कस्ता इन्जिनियर ? हनुमन्ते खोला वीचमै ढलान गरी पक्की ढल

2492

बलराम प्यासी
काठमाडौं ।
वर्षात्को पानीलाई अवरोध हुने गरि सरकारी निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले भक्तपुरको लोकन्थली फाँट र ललितपुरको इमाडोल वीचमा बग्ने हनुमन्ते खोलाको वीचमा आरसिसि ढलान गरी पक्की ढल निर्माण गरेको छ ।

वर्षात्मा आउने बाढी र खोलाको वहावलाई नै अवरोध पुग्ने गरि निर्माण गरिएको सो पक्की ढलको नक्सांकन गर्ने इन्जिनियर÷प्राविधिकको योग्यता र कार्यक्षमतामा समेत प्रश्नचिन्ह खडा गरेको छ भने वर्षातको वाढी मनोहरा फाँट र इमाडोल क्षेत्रको वस्तीलाई डुवानमा पार्ने देखिएको छ ।


केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालय अन्र्तगतको उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले मनोहरा खोला किनारमा मुख्य ढल प्रणाली निर्माण गर्ने क्रममा हनुमन्ते खोलाको वहावलाई असर पार्ने गरी सो पक्की ढल निर्माण गरेको हो ।
मनोहरा खोला र हनुमन्ते खोला जोडिने दोभान नजिकै निलोपुलको पश्चिमतर्फ हनुमन्ते खोलामा निर्माण गरिएको सो पक्की ढल करीव ५ फिट उचाइ र ४० फिट लम्बाइको आरसिसि ढलान गरी बनाइएको छ । गर्मीयाममा पानीको वहाव कम भएका कारण हाल निर्माण गरिएको पक्की ढल मुनिको एकफिट ग्यापबाट हनुमन्ते बगिरहेतापनि वर्षात्मा भने बाढी पक्की ढलको ५ फिटमाथिबाट बग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
भक्तपुरको मध्यपुर नगरपालिकाको १७ नं वडा र ललितपुरको महालक्ष्मी नगरपालिका ३ इमाडोलको किनार जोड्ने गरी हनुमन्ते खोलामा सो पक्की ढल बनाइएको हो ।
सो पक्की ढल निर्माण गरिएको कुरा न मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई थाहा छ, न महालक्ष्मी नरगपालिका प्रमुख रामेश्वर श्रेष्ठलाई नै । मध्यपुर ठिमी नगरप्रमुख मदनसुन्दर यतीखेर जापान भ्रमणमा छन भने महालक्ष्मी नगरप्रमुख रामेश्वरले यसबारे आफुले मंगलबार स्थलगत निरीक्षण गरेपछि मात्रै प्रतिक्रिया दिनसक्ने बताए ।
पक्की ढलान गरि बनाइएको ढलले दुवै नगरपालिकाको वस्तीलाई जोखिममा पार्ने मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीले बताए ।


राजधानीको कलंकीदेखि कोटेश्वरसम्म निर्माण गर्न लागेको ८ लेनको चक्रपथ निर्माण गर्दा पैदलयात्रुको सुविधाको लागि ठाउँ ठाउँमा जेब्राक्रस र सववे नराखी गल्ती गरेजस्तै केयुकेलले पनि हनुमन्ते खोलामाथि पक्की ढल बनाएर गल्ती गरेको स्थानीय वासिन्दा बताउँछन ।
केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालय अन्र्तगतको उपत्यका फोहोर पानी व्यवस्थापन आयोजनाले मनोहरा खोला किनारमा मुख्य ढल प्रणाली निर्माण गर्ने क्रममा ह्युम पाइप विस्तार गर्ने, रिटेनिंग स्ट्रक्चरको साथै आरसिसी ढलानका काम समेत गर्ने गरि जेड.आइ.इ.सी.—शर्मा—बिकोई जेभि, टंगाल काठमाडौंलाई मुल्य अभिवृद्धि करवाहेक ६७ करोड १३ लाख ८५ हजार ९सय ९९ रुपैयाँमा ठेक्का दिएको हो ।
२२ अक्टोबर २०१८ मा कार्य सकिने गरि सो ठेकेदार कम्पनीले ३ नोभेम्बर २०१६ मा ढल निर्माणको काम शुरु गरेको थियो ।