काठमाडौं – सात वर्षअघि नाष्टले गोरखा, बैतडीलगायत सुन्तलाका पकेट क्षेत्रमा सुन्तला जातको बिरुवामा लाग्ने रोगबारे अध्ययन गर्यो। टुप्पोबाट सुन्तलाको बिरुवा किन सुक्छ भन्नेबारे गरिएको अध्ययनबाट रोगको कारण पनि पत्ता लाग्यो। तर, उक्त अध्ययन प्रतिवेदन (रिसर्च) कार्यान्वयनतर्फ सरकारले चासो नदिँदा अहिले पनि सुन्तलाका बिरुवा सुक्ने रोगका कारण किसान पीडित छन्।
स्तन क्यान्सर रोगको औषधिबारे डा.भरतप्रसाद बस्यालले लामो समय रिसर्च गरे। उच्च पहाडी क्षेत्रमा पाइने लौठ सल्ला (टेक्सस वालिचिन जुक)बाट निस्कने टेक्सल केमिकलले क्यान्सर रोग निको हुने उनले पत्ता लगाए। एक दशक अघिको उक्त रिसर्चमाथि सरकारले चासो दिएन। अनुसन्धानकर्ता बस्याल उल्टै अमेरिका भासिए। निकै दुर्लभ जडीबुटी मानिने लौठ सल्लाका पात र बोक्रा अवैध रूपमा सीमापार निर्यात भइरहेका छन्।
नाष्टका उपकुलपति जीवराम पोखरेलले बस्तीमा हुने आगलागी नियन्त्रणका लागि अग्नि अवरोध प्रविधिबारे पाँच वर्षअघि रिसर्च गरे। उनले बर्सेनि तराईका बस्तीमा हुने आगलागीबाट बच्ने उपाय सुझाए तर यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन।
यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता दर्जनौं रिसर्च बर्सेनि हुन्छन्, नेपाल प्रज्ञा विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बाट। विज्ञान तथा प्रविधिका विभिन्न विषयमा प्राथमिकताका आधारमा अध्ययन, अनुसन्धान तथा विकास र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले चार दशकअघि स्थापना भएको नाष्ट सरकारको एक मात्र अनुसन्धानमूलक संस्था हो।
लाखौं खर्चमा महिनौं लगाएर गरिने रिसर्च जर्नलमा प्रकाशन भए पनि यसको कार्यान्वयन पक्ष भने निकै कमजोर देखिन्छ। जसकारण उपलब्धि शून्यप्रायः छ। नाष्टका रिसर्चहरू जर्नलबाट कपी गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले आफ्नो अनुसन्धान भन्दै प्रयोग गरिरहेको नाष्टको दाबी छ, अन्नपूर्ण पोस्टमा खबर छ ।