फुटपाथ तत्काल खाली गराउन निर्देशन
बलराम प्यासी
काठमाडौं । सरकारले नयाँ बन्ने सडकहरुको डिजाइन गर्दा पैदलयात्री, साइकलयात्री, ठुला सवारी साधन, अपांग र दृष्टीवीहिनको आवगमनलाई सहज हुनेगरि डिजाइन गर्न भौतिक यातायात तथा निर्माण मन्त्रालय र सम्वन्धित नगरपालिकाहरुलाई निर्देशन दिएको छ ।
चिनियाँ सरकारको सहयोगमा कलंकी चोकदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तार गरि आठ लेनको बनाउने क्रममा पैदलयात्री, जेष्ठ नागरिक, असक्त, अपांग र दृष्टिवीहिनका साथै साइकलयात्रीलाई सहज हुने गरि डिजाइन नगरिएको गुनासो बढेपछि सरकारले सम्वन्धित निकायलाई सो निर्देशन दिएको हो । चक्रपथ विस्तारमा सुधार्न मिल्ने ठाउँको तत्काल सुधार गर्न पनि निर्देशन दिइएको छ ।
राजधानीका अधिकाँश सडक सवारी साधनको लागि मात्रै निर्माण र विस्तार गरिएपछि साँघुरो सडकका कारण पैदलयात्री, जेष्ठ नागरिक, असक्त, अपांग र दृष्टिवीहिनका साथै साइकलयात्रीलाई कठिनाई महसुस भएकोमात्रै नभई सडक दुर्घटनापनि बढ्दै गएकोले सरकारले सम्वन्धित निकायलाई सो निर्देशन दिएको हो ।
प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको अध्यक्षतामा प्रधानमन्त्री तथा तथा मन्त्री परिषदको कार्यालयमा सोमबार सम्वन्धित निकायका प्रमुखहरुको उपस्थितिमा बसेको वैठकमा सो निर्देशन दिइएको हो ।
चक्रपथ निर्माणमा देखिएका कमीकमजोरी तत्काल सुर्धानका लागि सम्वन्धित काठमाडौं र ललितपुर महानगरपालिकासंग समन्वय गर्न पनि दुवै महानगरपालिका र भौतिक योजना तथा निर्माण मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ ।
सडकमा देखिएका अव्यवस्थित तारलाई व्यवस्थित गर्न ट्राफिक बत्ति थप्न तथा विग्रेका ट्राफिक वत्तिको सुधार गर्न, ढलहरुको व्यवस्थापनका लागि पनि सम्वनिधत निकायलाई निर्देशन दिएको छ । यसैगरि महानगरक्षेत्रमा ठुला सवारी साधन सञ्चालन गर्न आवश्यक समन्वयका लागि दुवै महानरगपालिकालाई समन्वय गर्न पनि निर्देशन दिइएको छ ।
सडकमा कुनैपनि अवरोध हुन नदिन वैठकले तत्कालैदेखि लागु हुने गरि गृह मन्त्रालय तथा सम्वन्धित मन्त्रालयको साथै सडक विभाग, खानेपानी तथा शहरी विकास मन्त्रालय र सम्वन्धित महानगरपालिकाहरुलाई निर्देशन दिएको छ ।
वैठकले पैदलयात्रीको सुविधाको लागि बनाएको फुटपाथमा व्यापारीहरुले सामान राखेर विक्री गर्ने गरेको पाइएकोले तत्कालैदेखि फुटपाथ खाली गर्दै पैदलयात्रीलाई सहजरुपमा आवतजावत गर्ने वातावरण मिलाउन पनि सम्वन्धित स्थानीय निकाय र ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ ।
अटेरी गरि फुटपाथमा सामान राखी आवागमनमा अवरोध गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न पनि सरकारले सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।
सो वैठकले ठेकेदारका कारण सडक, खानेपानी लगायतका परियोजना निर्माण र विस्तारमा ढिलाई भए नभएको अध्ययन तथा पहिचान गरि ढिलाई गर्ने ठेकेदार र कम्पनीलाई कारवाही प्रकृया अगाडि बढाउन पनि सडक विभाग, खानेपानी तथा शहरी विकास विभाग, दुरसञ्चार प्राधिकरण, विद्युत प्राधिकरण, मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको छ ।