काठमाडौं ।
आँखामा लाग्ने रोग मोतियाविन्दु भन्दा ‘ट्रकोमा’ अहिले जनस्वास्थ्यको समस्याको रुपमा नरहेको यसक्षेत्रमा काम गर्दै आएका संघसंस्थाले बताएका छन । यसअघि अन्धोपनको मुख्य कारणको रुपमा ट्रकोमा र मोतियाविन्दु दुवैलाई लिँइदै आइएको थियो ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल नेत्रज्योति संघले स्वास्थ्य सचिव डा.पुष्पा चौधरीलाई विभिन्न जिल्लामा गरेको सर्वेक्षण प्रतिवेदन बुझाउँदै ट्रकोमा रोग अब नेपालका लागि जनस्वास्थ्यको समस्याको रुपमा नरहेको तथ्य सार्वजनिक गरेको हो ।
विश्व स्वास्थ्य संगठनलाई यसबारे जानकारी गराई संगठनबाट नेपालमा ‘ट्रकोमा’ जनस्वास्थ्य समस्याको रुपमा नरहेकोे प्रमाणीकरण गराउनका लागि पनि मन्त्रालयसंग आग्रह गरेको छ ।
संघले कैलाली, कञ्चनपुर, बैतडी दांग अछाम ,दैलेख, रोल्पा, रुकुम लगायत २० जिल्लामा गरेको सर्वेक्षण अनुसार पछिल्लो समय ट्रकोमा रोग जनसंख्याको ५ प्रतिशतभन्दा कममा देखिएकोले सो रोग जनस्वास्थ्यको समस्या नभएको जनाएको हो । यसअघि ती जिल्लाहरुमा ट्रकोमा रोग बढीमात्रामा देखिएको थियो । कूल जनसंख्याको ५ प्रतिशतभन्दा बढी जनसंख्यामा कुनैपनि रोग देखिएमा जनस्वास्थयको समस्या हुने विश्व स्वास्थय संघको मान्यता छ ।
नेपाल नेत्रज्योति संघका अध्यक्ष तिर्थ मिश्रका अनुसार संघले स्वास्थ्य मन्त्रालयसंग मिलेर मुलुकभरी अन्धोपन रोकथाम तथा निवारणका लागि विभिन्न चेतनामूलक कार्यक्रमसहित राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।