इँटा उद्योग सुधार्न व्यवसायीलाई पाँचदिने तालिम

721

 

भक्तपुर, । इँटा उद्योगका कारण प्रदूषण फैलिएको र इँटा उद्योगमा बालश्रम प्रयोग भएको भन्ने आरोपबाट मुक्त नभएको इँटा उद्योग सुधार्न व्यसायीलाई तालिमको आयोजना गरिएको छ ।
इँटा व्यवसायीहरुको छाता संगठन नेपाल इँटा उद्योग महासंघले देशभर सञ्चालनमा रहेका इँटा व्यवसायीहरुलाई इँटा भट्टामा भित्रिएको नयाँ प्रविधिबारे जानकारी दिन तालिमको आयोजना गरिएको हो ।
पाँचदिनसम्म चल्ने उक्त तालिम आइतबारबाट भक्तपुरमा सुरु भएको छ । सो तालिमको उद्घाटन घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले गरेका थिए । सो क्रममा उनले इँटा उद्योगलाई दैनिक आवश्यकताअन्तर्गतको उद्योगको संज्ञा दिँदै विभागले उद्योगको स्थायित्वको विषयमा सरोकारवालाहरुसँग छलफल गरेको बताए ।
उनले परिवर्तित राजनीतिक परिवेशमा इँटा उद्योगहरुप्रति विभिन्न नकारात्मक टीकाटिप्पणी भए पनि इँटा उद्योगको आवश्यकता रहेको बताउँदै उद्योगलाई समय सुहाउँदो तरिकाले अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए । उनले त्यसको लागि इँटा उद्योगहरुले प्रदूषण न्यूनीकरणको उपायहरु अवम्बन गरी उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।
दैनिक आवश्यकताको उद्योग भएको कारण उनले इँटा उद्योगलाइै मौसमी उद्योगका रुपमा मात्र नभएर वर्षभरी सञ्चालन गर्न सकिने उद्योग बनाउन सके अझ देशलाई फाइदा हुने उनको भनाइ थियो । ‘मौसमी उद्योगका रुपमा रहेको इँटा उद्योगलाई बाह्रै महिना कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने तर्फ व्यवसायी र सरकार दुबैले सोच्नुपर्छ, प्रदूषण न्यूनीकरणको लागि इँटा व्यवसायीहरुले अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ, त्यसको लागि व्यवसायीहरुको क्षमता र दक्षता अभिवृद्धि गर्ने काम गर्नुपर्छ ।’ जिगज्याग बोझाई र झोकाई तालिमको उद्घाटन सत्रमा उनले भने ।
सोही अवसरमा नेपाल उद्योगवाणिज्य महासंघको वातावरण तथा उर्जा विभागका उर्जाविद् डा. उत्तम कुँवरले इँटा उद्योगप्रतिको सामाजिक मानसिकतामा परिर्वतन गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौं उपत्यकामा वायुप्रदूषण गराउनका लागि इँटा उद्योगमात्र जिम्मेवार नभएर सरकारको कामको ढिलाई पनि भएको उल्लेख गरे ।
‘काठमाडौं उपत्यकामा प्रदूषणको कारक के इँटा उद्योगमात्रै हो ? अरु कारण छैनन् ?’ इँटा उद्योगले पनि समयअनुकूल आफूहरु परिमार्जन भएको भन्दै उनले वातावरणविद्हरुसँग प्रश्न सोधे ।
तलिम उद्घाटन सत्रमा इसिमोडका रेश्मा दीक्षितले इँटा उद्योगहरुले पछिल्लो समयमा इँटा उद्योगहरुबाट निस्कने धूँवा नियन्त्रण गरेको तथ्यले सावित गरेको बताउँदै नेपालका इँटा व्यवसायीहरुले अवलम्बन गरेको जिगज्याग बोझाइ र झोकाइ दक्षिण एसियामै उत्कृष्ट रहेको पनि बताइन् । उनले सोही प्रविधिको कारण प्रदूषणमा पनि गिरावट आएको जानकारी दिइन् ।
कार्यक्रममा आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष विश्वराम कवां, भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बालगायतले व्यवसायीहरुका लागि आयोजित तालिम फलदायी हुने बताए ।
सैद्धान्तिकका अलावा प्रयोगात्मक तरिकाले पनि बोझाई र झोकाईको सीप दिइने सो तालिममा विभिन्न जिल्लाका ६० वढी व्यवसायीहरुरको सहभागिता रहेको छ । तालिमका लागि महासंघअन्तर्गतको प्रविधि अनुसन्धान विकास केन्द्रले सहजीकरण गर्ने भएको छ ।
तलिममा स्रोतव्यक्तिहरु क्रमशः भीष्म उप्रेती, उषा मानन्धर, सुयश प्रजापति, सागर अधिकारी, राजकुमार लाखेमरु, श्याम महर्जन, देवेन्द्र महर्जन लगायतले विभिन्न विषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रम आयोजक महासंघका अध्यक्ष महेन्द्र चित्रकारले तालिमले व्यवसायलाई अघि बढाउन र व्यवसायीहरुप्रति लाग्दै आएको लान्छना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताए । तालिम बिहीबार सम्पन्न हुनेछ भने तालिमको प्रयोगात्मक अभ्यास ताथलीको फैढोकाीस्थित श्वेतभैरब इँटा उद्योगमा हुनेछ ।