को हुन् आईजीपीका दावेदार धीरु बस्नेत ?

1678

भक्तपुर । आइजीपी प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ ।

आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति सँगै नेपाल प्रहरीमा नयाँ आइजीपी को बन्ने भन्ने लिगलिगे दौड सुरु भएको छ । यो अवस्थामा अबको आइजीपी को बन्ने भन्ने आन्तरिक रुपमा होडबाजी व्यापक बनेको छ ।
गृह मन्त्रालयले हेर्न थालेको सेवा प्रवेश देखि अहिलेसम्मको ट्यारक रेकर्ड अनुसार चार जना डिआइजीहरु आइजीपीका लागि प्रमुख दावेदार देखिएका छन् । अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिएपछि भावी आइजीपीका लागि १५ डिआइजीमध्ये चार जना सवैभन्दा योग्यको सूचीमा रहेका छन् ।

गृह स्रोतका अनुसार ट्रयाक रेकर्डको आधारमा डीआइजीहरु धीरु बस्नेत, सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट आइजीपी बन्ने अवस्था देखिएको छ ।

गृहस्रोतका अनुसार कामको मूल्यांकन गर्दा चार जना नै उत्कृष्ट देखिएकोले यिनै चारमध्येबाट एक जना आइजीपी र बाँकी एआइजीपी हुनेछन् ।

अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेकाहरुको सूचिमा धीरु बस्नेतको मूल्यांकन अझ उच्च देखिएको स्रोतले जानकारी दिएको छ ।

बस्नेतका दाजु पूर्व जर्नेल प्रकाश बस्नेत यस अघि ओली प्रधानमन्त्री हुँदा सुरक्षा सल्लाहकारका रुपमा रहेका थिए । यसैबाट ओली निकटको मान्छे भन्दै यसअघि देउवा सरकारले बस्नेतलाई बढुवामा उपेक्षा गर्न खोजेका थिए ।

प्रशासन भित्र काम गर्ने क्षमतावान, धेरै अन्तराष्ट्रिय तथा राष्ट्रिय सम्मान तथा पुरस्कार पाएको, नेतृत्व क्षमतामा अब्बल तथा आर्थिक रुपमा पारिदर्शी देखिएका बस्नेतको चर्चा भावी आईजीपीका रुपमा बलियो गरी देखिन थालेको छ । अझ देउवा सरकारको उपेक्षित घाउमा मल्हम लगाउन र आफ्नो स्पिरिट अनुसार दौडन सक्ने बिश्वासका साथ समेत बस्नेत प्रति ओली सरकारको सदासयता बढी हुने बालुवाटार निकट एक स्रोतको बिश्लेषण छ ।

उत्कृष्ट हुँदा हुँदै पनि उपेक्षित बन्दै प्रतिस्पर्धामा खरो उत्रिएका बस्नेतलाई प्रधानमन्त्री ओलीले यसपटक न्याय दिन्छन् भन्ने बुझाई समेत पाईएको छ ।
यदि उनले न्याए पाएका खण्डमा नेपाल प्रहरीको ईतिहाँसमा नै नयाँ आयामको सुरुवात हुने पनि देखिन्छ ।