प्रदेश सभामा हरि गुरुको पाँच महिना

1190

भक्तपुर । मस्तिष्काघातका कारण भक्तपुर निर्वाचन क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिव हरिशरण लामिछानेको निधन भएको छ । ५१ वर्षिय लामिछानेको सोमवार नै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा लामिछानेको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं नेता माधवकुमार नेपाललृ आर्यघाटमा नै पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए । यस्तै रक्षामन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले पार्टी सचिव योगेश भट्टराई, भीम आचार्य, पोलिटव्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डे, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, उपसभामुख राधिका तामाङ, प्रदेशमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश नं १ का मन्त्री हिक्मत कार्की, नेकपा (माओवादी केन्द्र)सचिवालय सदस्य दिलीप प्रजापति, राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहलगायतले लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन । लामिछानेको पार्थिव शरीरमा उनका छोरा कृष्णशरणले दागबत्ती दिएका थिए ।

गत मंसिर २१ गतेको प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट एमालेका तर्फबाट निर्वा्चित लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिना दश दिनमै टुङ्गिएको छ । लामो समय राजनितिमा ब्यस्त रहेका लामिछाने हरि गुरुका नामले भक्तपुरमा चिनिने गरेका थिए । उनी एक साता लामो रारा भ्रमण सकेर शनिबार साँझ घर आइपुगेका पारिवारले जनाएको छ । आइतबार टाउको दुखेपछि काठमाडाँै मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको सोमवार अपराह्न निधन भएको हो ।

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६ नगरकोट तेलकोटमा पिता हरिप्रसाद र आमा देवमायाका कोखबाट जन्मीएका उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।