चाँगुनारायण नपामा जनप्रतिनिधिहरुको एक वर्ष, कांग्रेसका जनप्रतिनिधिबाट एक वर्षे कार्यक्रम बहिष्कार

3164

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा जनप्रतिनिधिहरुले पद बहाली गरेको बिहीबार एक वर्ष पूरा भएको छ । चाँगुनारायण नपाको एक बर्षे समिक्षा तथा प्रगती कार्यक्रममा भने कांग्रेसका जनप्रतिनिधिबाट कार्यक्रम नै बहिस्कार गरिएको छ । नपामा जनप्रतिनिधिहरुले पद बहाली गरेको एक वर्ष पूरा भएको अवसरमा बिहीबार नपाले आयोजना गरेको वार्षिक कार्यक्रममा कांग्रेस वडा अध्यक्षहरुले बहिस्कार गरेका हुन् । उक्त कार्यक्रममा नेमकिपाका वडा अध्यक्ष गणेश त्यातसँगै एमालकै वडा अध्यक्ष बुद्धिलाल महर्जनसमेत उपस्थित रहेका थिएनन् ।
कार्यक्रममा प्रमुख मिश्रले नपामा जनप्रतिनिधि आएपछि भएका कामकारबाहीको १९ बुँदे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आफूहरु नपामा आएपछि अनुमान गरेभन्दा ७३ प्रतिशत राजस्व उठेको दावी गरे ।
‘नगरसभाले चार करोड ४४ लाख ९० हजार रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेका थियौं’, उनले भने, ‘तर अहिलेसम्म सात करोड ६८ लाख ९६ हजार आठ सय ४९ रुपैयाँ संकलन भइसकेको छ । यो अनुमान गरेकोभन्दा ७३ प्रतिशत बढी हो ।’
उनका अनुसार एकवर्षे अवधिमा दुई हजार ६ सय मिटर सडक कालोपत्रे, १२ किलोमिटर सडक ग्राभेल, एक किलोमिटर पर्खाल, एक किलोमिटर ढल र पाँचसय मिटर सडक ढलान गरिएको छ ।
उनले आठ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको कार्यक्रममा जानकारी दिएका थिए ।

नगर प्रमुख तानाशाही कांग्रेसका जनप्रतिनिधिहरु

जनप्रतिनिधिहरुको एक वर्षे कार्यकालमा नपाका प्रमुख सोमप्रसाद मिश्र तानाशाही बनेको र निरंकुश कार्यशैली अपनाएको नपामा निर्वाचित कांग्रेस वडा अध्यक्षहरुले आरोप रहेको छ ।
उनीहरुले नगर प्रमुख मिश्रले नगर सभाले पारित गरेको योजनालाई बाइपास गरेर आफ्नो खल्तीका योजनालाई बजेट छुट्याउँदै
तानाशाही प्रवृती देखाएको आरोप लगाएका हुन् ।
चानपा २ वडा अध्यक्ष शिवहरी केसी भन्छन् नगर कार्यपालिकाले नगर सभाले पारित गरेकोबाहेकका योजनालाई बजेट नछुट्याउने र बजेट छुट्याउनै परे कार्यपालिकाको बैठकबाट निर्णय गराउनुपर्ने निर्णय नै गरेको छ तर त्यसको विपरीत नगर प्रमुख मिश्रले नगरसभाबाट पास गरिएको योजनालाई बेवास्ता गर्दै आफ्नो खल्तीबाट मनोमानी रुपमा कार्यकर्ता पाल्ने काम मात्र भएको उनले आरोप लगाएका छन् । नगर कार्यपालिकाको माइन्युटमा समेत नक्कली योजना थपेर नगर प्रमुख मिश्रले नपाको रकम आफूखुसी र एकलौटी बाँड्दै आएको वडा नं. ५ का अध्यक्ष जयन्त खड्काको आरोप रहेको छ ।
‘कार्यपालिकाको बैठक बस्दा हामीले उपस्थितिमा मात्रै हस्ताक्षर गरेका हुन्छौं’, उनले भने, ‘बैठकका एजेन्डामाथि छलफल गरी टुंग्याएर जान्छौं । पछि माइन्युट लेखिँदा बैठकमा छलफल नै नभएका योजना घुसाउने र आफ्ना कार्यकर्ता पाल्ने योजना विनियोजन गर्ने काम नगरप्रमुखले गर्दै आएका छन् ।उनले बताए ।
कार्यपालिका बैठकमा छलफल नै नभएका योजना माइन्युटमा नघुसाउन पटकपटक आग्रह गर्दा र आफुखुसी कार्यकर्ता पाल्ने प्रवृतिको विरोध गर्दा पनि सुनुवाइ नभएपछि पछिल्लो आठ महिनादेखि कार्यपालिकाको बैठक नै बहिस्कार गरेको उनले जानकारी दिए ।
वडालाई बजेट नै नदिएर प्रमुख मिश्रले आफ्नै तजबिजमा आफ्ना कार्यकर्ताले नपामा दिने ठाडो निवेदनको आधारमा बजेट बाँड्दै हिँडेर निरंकुश व्यवहार देखाउँदै आएको कांग्रेस सर्मथित वडा अध्यक्षहरुको दावी रहेको छ ।
चाँगुनारायण नगरपालिकामा प्रमुख र उपप्रमुख तथा चार वटा वडामा एमाले उम्मेदवार बाँकी पाँच वडामध्ये चारवटामा नेपाली कांग्रेस र एक वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए ।
त्यस्तै नगर कार्यपालिकामा भने एमालेको बहुमत रहेको छ । सोही बहुमतको बलमा एमालेका जनप्रतिनिधिहरुले एकलौटी योजना ल्याउने र आफ्ना कार्यकर्ताहरुलाई योजनाको रकम बाँड्ने गर्दै आएको कांग्रेस वडा अध्यक्षहरुले आरोप रहेको छ ।