शिक्षण अस्पतालको कार्यकारी निर्देशक चयनका लागि समिति

329

 

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा.तिर्थ खनियाले त्रिविवि शिक्षण अस्पतालको शक्तिशाली कार्यकारी निर्देशक नियुक्तिका लागि ३ सदस्यीय छनौट समिति गठन गरेका छन् ।

१५ दिनपछि नियुक्त हुने कार्यकारी निर्देशक सो अस्पतालका विभिन्न केन्द्र र विभागका करीव १ हजार २०० कर्मचारीको प्रमुख बन्नेछन । यसअघि नेपाली कांग्रेसको तर्फबाट कार्यकारी निर्देशक रहेका प्रा.डा. दिपक महराको कार्यकाल १५ जेठमा सकिएपछि सो पद रिक्त रहेको थियो ।

छनौट समितिका सदस्यहरुमा शिक्षण अस्पतालको जनस्वास्थ्य अनुसन्धान प्रयोगशाला तथा सुक्ष्मजीव विभागका प्रमुख वैज्ञानिक प्रा.डा.जीवनबहादुर शेरचन, न्युरो विभाग प्रमुख प्रा.डा.जेपी अग्रवाल र सर्जरी विभाग प्रमुख प्रा.डा.रमेश भट्टराई छन ।

कार्यकारी निर्देशक पदका लागि त्रिविवि शिक्षण अस्पतालमा ३० वर्षभन्दा बढी समयदेखि कार्यरत वरिष्ठमध्येका तीनजना प्राध्यापक स्तरका योग्य व्यक्तिको नाम १५ दिनभित्र सिफारिस गर्न छनौट समितिलाई निर्देशन दिइएको छ ।

मुलुककै पहिलो र ठुलो शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न योग्यता पुगेका ३ जना प्राध्यापकहरुमा हाडजोर्नी विभागका प्रा.डा.दिनेश काफ्ले, प्लास्टिक सर्जरी विभागका प्रा.डा.इश्वर लोहनी र पेट तथा क्यान्सर विशेषज्ञ प्रा.डा। प्रदीप वैद्य रहेका छन ।

तर हाल नेपाल कम्युनिस्ट पार्टी (तत्कालिन एमालेका अध्यक्ष केपि ओली) संग नजिक मानिएका हाडजोर्नी विभागका प्रा.डा.दिनेश काफ्लेले नै कार्यकारी निर्देशक पदमा वाजी मार्ने संभावना रहेको स्रोत बताउँछ । शक्तिशाली कार्यकारी निर्देशक पद ४ वर्षको हुने व्यवस्था छ ।