जल, जंगल र जमिनसम्बन्धी चार हजार चार सय ३३ वटा मुद्धा मेलमिलापमा टुंग्याइए
सञ्जीब दुलाल
भक्तपुर । प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालले हाल सम्म एकसय पचास वटा ठूला प्राकृतिक दाेन्दलाई दिगो शान्तिमा रुपान्तरण गरेको जनाएको छ । प्राकृतिक द्वन्द्व रुपान्तरण केन्द्र नेपालको पाँचौं स्थापना दिवसका अवसरमा केन्द्रले स्थापनाकालदेखि हालसम्म एकसय पचास वटा ठूला प्राकृतिक दाेन्दलाई दिगो शान्तिमा रुपान्तरण गरिसकेको केन्द्रका अध्यक्ष रामेश्वर बोहराले जानकारी दिएका थिए ।
केन्द्रले सर्वोच्च अदालतअन्तर्गतको मेलमिलाप परिषद्को स्वीकृतिमा जल, जंगल र जमिन जस्ता प्राकृतिक स्रोतसाधनमा भइरहेको दाेन्द रुपान्तरण गर्दै आएको छ । केन्द्रले देशका १९ जिल्लामा प्राकृतिक दाेन्दलाई जनसहभागितामा रुपान्तरण गर्दै शान्ति स्थापना गर्दै आएको अध्यक्ष बोहराले जानकारी दिए ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले केन्द्रले सञ्चालन गर्दै आएको कार्यक्रम, त्यसको उपलब्धि, सिकाइ, चुनौती र अवसरसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनले केन्द्रमा हालसम्म चार हजार सात सय ३९ वटा जल, जंगल र जमिनसम्बन्धी मुद्दा दर्ता भएकोमा चार हजार चार सय ३३ वटा मुद्धालाई मेलमिलापमा टुंग्याइएको जानकारी दिए ।
बाँकी तीनसय ६ वटा मुद्दा स्थानीय प्रहरीमा तामेल गरिएको उनको भनाइ थियो ।
‘जल, जंगल र जमिनसम्बन्धी विवाद मेलमिलापमार्फत समाधान गर्न देशभर हाम्रा तीनसय २३ जना स्वयम्सेवक परिचालन भएका छन्’, कार्यकारी निर्देशक थापाले भने ।
त्यस्तै केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति मीना श्रेष्ठले भक्तपुरमा पनि सामुदायिक वनसम्बन्धी नौवटा मुद्दा केन्द्रमा दर्ता भएको जानकारी दिइन् । जसमध्ये आठवटाको मुद्धा मेलमिलापमार्फत समाधान गरिएको र एउटाको रुपान्तरणको प्रक्रियामा रहेको उनले बताइन् ।
राजनीतिक दाेन्द रुपान्तरण चुनौतीपूर्ण : बस्नेत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले राजनीतिक स्थायित्व देखिए पनि राजनीतिक दाेन्द रुपान्तरण चुनौतीपूर्ण रहेको बताएका थिए ।
प्राकृतिक दाेन्द रुपान्तरण केन्द्र नेपालको पाँचौं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले राजनीतिक दाेन्द रुपान्तरण एवं व्यवस्थापनमा मुलुक अझै संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका बस्नेतले बालकृष्ण ढुंगेलको विधिवत रिहाइ गरिँदा र गंगामाया अधिकारीले न्याय नपाउँदा पनि प्रश्न उठ्नु राजनीतिक द्वन्द्व व्यवस्थापन नभएको प्रमाण भएको स्पष्ट पारे ।
‘विधिवत रुपमा बालकृष्ण ढुंगेलको रिहाइ हुँदा पनि प्रश्न उठाइएको छ । वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीले न्याय नपाउँदा पनि आशंका गरिएको छ’, नेता बस्नेतले भने, ‘त्यसैले राजनीतिक दाेन्द रुपान्तरण अहिलेको चुनौती हो । राजनीतिक दाेन्द रुपान्तरण भई दिगो शान्ति स्थापना गर्न सबै एकजुट भई लाग्नुपर्छ ।’
उनले प्राकृतिक दाेन्दमात्रै समाधान गर्दै आएको केन्द्रलाई राजनीतिक दाेन्द र स्थानीय तहबीचको दाेन्दलाई समेत शान्तिमा रुपान्तरण गर्ने कार्य गर्न सुझाव दिए ।
‘फरक फरक राजनीतिक दलका जनप्रतिनिधि आएकाले स्थानीय तहहरुबीच नै मतभेद र दाेन्द बढेका छन्’, सांसद बस्नेतले भने, ‘जिल्ला समन्वय समितिमा पनि राजनीतिक दलका प्रतिनिधि आउँदा झन् समन्वयमा समस्या देखिएको छ । त्यसैले स्थानीय तहमा देखिएका विवाद र मतभेदसमेत रुपान्तरण गर्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख फणिन्द्रराज पोखरेल, चाँगुनारायण नपाकी उपप्रमुख वीणा बाँस्तोलालगायतले प्राकृतिक द्वन्द्व रुपान्तरणमा केन्द्रको काम गर्ने प्रक्रिया अनुकरणीय रहेको धारणा राखे ।







































