किन पर्‍यो ‘हिलो’सहितको पानी ? यसो भन्छन् मौसमविद

1573

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति पनि पानी पर्‍यो । तर, पानी अरु दिनको जस्तो सफा थिएन ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा परेको पानी धमिलो थियो । धेरैले ठाने, हिलोसहितको पानी बर्सियो । शनिबार बिहान घरका छत, गाडी, आफ्नो फूलबारी पखाल्न मानिसहरु व्यस्त भए ।

हामीले यसबारे मौसम पूर्वानुमान महाशाखामा बुझ्यौं । मौसमविद सुभास रिमालका अनुसार यस्तो वर्षात वायु प्रदुषणका कारण हुन्छ ।

भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको थियो । सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो । र, धूलोका कणहरु वायुमण्डलमा फैलिएर नेपालको आकाशसम्म आइपुग्यो । राति पानी परेपछि हावामा रहेको धूलो पनि पानीसँगै खस्यो । जसले पानीलाई धमिलो बनायो ।

‘यो नेपालको प्रदुषणका कारण भएको होइन, राजस्थानको मरुभूमिको धुलो नेपालको आकाशसम्म फैलिएकाले फोहोर पानी परेको हो,’ मौसमविद रिमालले अनलाइनखबरसँग भने ।

यस्तो वर्षा नेपालको पूर्वी क्षेत्रमा बढी भएको छ । अझै पनि नेपाली आकाशमा यस्तो धुलोको कण जम्मा भएर बसेकाले सामान्य वर्षा हुने क्षेत्रमा हिलो मिसिएको पानी देख्न सकिने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।