‘जनताले खोजेजस्तो प्रहरी संगठन बनाउँछु’ः महानिरीक्षक खनाल
बलराम प्यासी
काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले खोजेजस्तो र सोचेजस्तो प्रहरी संगठन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोटदेवी—विद्यानगर प्रहरी प्रभाग नरेफाँटको नवनिर्मित पक्की भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरीलाई शनिबार हस्तान्तरण गरिएको प्रभागको स्तरोन्नतिका लागि प्रहरी प्रधान कार्यालयबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए ।
प्रहरीको लागि आधारभूत आवश्यकतामा पर्ने आवास भवन स्थानीय जनताको सकृयतामा निर्माण गरिएकोमा खुसी व्यक्त गर्दै सहयोगी दाताहरुलाई महानिरीक्षक खनालले धन्यवाद पनि दिए ।
नेपाल सरकारको स्वामित्वमा रहेको करीव १० आना (पर्ति) जग्गामा महिला र पुरुषको छुट्टाछुट्टै थुनुवा कक्षसहित एक तल्ले सो भवनमा ५ कोठा छ । प्रहरी प्रधान कार्यालयका इन्जिनियरले बनाएको नक्साको आधारमा सो भवन बनाएको बताइएको छ ।
स्थानीय वासिन्दाबाट चन्दा संकलन गरि २१ लाख ९४ हजार रुपैयाँको लागतमा निर्माण गरि नेपाल प्र्रहरीलाई हस्तान्तरण गरेको भवनको गृहसचिव प्रेमकुमार राईले आजै उद्घाटन गरेका थिए ।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले मुलुकमा शानित सुरक्षा र सुशासन कायम गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै त्यसका लागि सुरक्षा प्रत्याभूत गर्ने निकाय नेपाल प्रहरी हरतवरबाट सक्षम हुनु जरुरी रहेको बताए । उनले सामाजिक काममा जनचासो घटिरहेको वर्तमान अवस्थामा नरेफाँटका स्थानीय वासिन्दाको योगदानको उच्च प्रशंसा पनि गरे ।
त्यस अवसरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले शान्तिसुरक्षाको लागि स्थायीरुपमा प्रहरी प्रभागको स्थापनाको साथै मनोहरा करिडोर र नरेफाँट इमाडोल जोडने पक्की पुल बनाउने कार्य यसैवर्ष सम्पन्न हुने बताए ।
विगतमा वेश्यावृत्ति, लागुऔषध दुव्र्यसनी, विभिन्न किसीमका अपराध हुने ठाउँको रुपमा चिनिएको नरेफाँट पछिल्ल केही वर्षदेखि प्रहरी सकृयताका कारण शान्त र सभ्य ठाउँको रुपमा चिनिन थालेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा सञ्जय साई आश्रमका संरक्षक सञ्जय साईले हरप्रहर खटिने प्रहरीको आवास निर्माणको लागि आश्रमले गरेको सहयोगको चर्चा गर्दै मानव धर्म नै सबैभन्दा ठुलो धर्म भएको बताए ।
त्यस अवसरमा भवन निर्माणमा सहयोग पुरयाउने निर्माण समितिका पदाधिकारीहरुका साथै निर्माणमा व्यक्तिगत सहयोग गर्दै स्थानीय दाताहरु महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामा, स्थानीय दाताहरु वचन श्रेष्ठ, सार्कीमान लामा, नवराज केसी, पदमकुमार रेग्मी, देव चौलागाई, सुमन जिसी लगायतलाई गृह सचिव राईले कदर तथा प्रशंसापत्र वितरण गरे ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष सार्कीमान लामा, उपाध्यक्ष नवराज केसी, सचिव पद्मकुमार रेग्मी र कोषाध्यक्ष जगन्नाथ कार्कीले प्रहरी प्रभागको स्थापनाकालदेखि हालसम्मको गतिविधिबारे प्रकाश पारेका थिए ।
महानगरीय प्रहरी प्रभाग अन्र्तगत प्रहरी बीटको रुपमा ५ वर्षअघि स्थापना गरिएको कोटदेवी विद्यानगर प्रहरी प्रभाग नरेफाँटको नवनिर्मित पक्की भवन शनिबारदेखि नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
करीव २१ लाख रुपैयाँको लागतमा निर्मित सो भवनको साँचो भवन निर्माण समितिका अध्यक्ष सार्किमान लामाले शनिबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे ।
नागरिक—प्रहरीको सहकार्यमा सरकारबाट कुनै सहयोग नलिई स्थानीय वासिन्दाबाट चन्दा संकलन गरि २१ लाख ९४ हजार रुपैयाँको लागतमा सो भवन मनोहरा खोलाको किनारस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको निर्माण समितिका सचिव पदमकुमार रेग्मीले बताए ।








































