सञ्जय साईको ‘छाते’ गिरीद्वारा निम्तालुमाथि दुव्र्यवहार

273

 

काठमाडौं ।

शनिबार नरेफाँटमा आयोजित कोटदेवी—विद्यानगर प्रहरी प्रभागको उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई सञ्जय साईबाबाका ‘छाते’ रविराज गिरीले दुव्र्यवहार गरेका छन् । यसअघि सञ्जय साईबाबा अन्य भक्तहरुले निम्तालुहरुले कार्यक्रमस्थलमा जुत्ता लगाएर गएकोमा पनि दुव्र्यवहार गर्दै जुत्ता फुकाल्न समेत लगाएका थिए ।

औपचारिक कार्यक्रममा १० मिनेट अघि सबै धर्म, सबै व्यक्ति समान हुन, सबैको सम्मान गर्न आग्रह गरेको प्रवचन दिएका तिनै सञ्जय साईका भक्त (छाते) रविराज गिरीले चियापानका लागि वैठकभित्र गएका केही निम्तालुलाई दुव्र्यवहार गरेर वैठक कक्षबाहिर जान भनेका थिए ।

सञ्जय साई आश्रमको प्रार्थनाहल नरेफाँटमा आयोजना गरिएको औपचारिक कार्यक्रमपछि सो हलकै पश्चिमतर्फको भित्री वैठकमा आयोजकले विशिष्ट र अन्य अतिथिलाई चियापानको लागि लगेकोमा साइबाबाका छातेले निम्तालुमध्ये केहीलाई बाहिर निकालेका थिए ।

भवन उद्घाटन तथा हस्तान्तरणको कार्यक्रम सकिएपछि आश्रमको भित्री वैठकमा आयोजकले गृहसचिव, प्रहरी महानिरीक्षकदेखि प्रहरी अधिकृत तथा पत्रकारहरुलाई आमन्त्रण गरेकोमा सञ्जय साईका छाते (धार्मिक भाषामा चेला) रविराज गिरीले गोप्य वैठकमा अरु बस्न नमिल्ने भन्दै हल बाहिर जान लगाए । आयोजकले भिब वैठकमा चियापानका लागि निम्ता गरेकाहरुमध्येका हनुमन्ते तथा मनोहरा सफाई योजनाका अभियन्ता तथा स्थानीय केही व्यक्तिहरुलाई छाते गिरीले हल बाहिर पठाएका थिए ।

गिरी एकताकाका नेपाली टेलिचलचित्रका स्थापित कलाकार मानिन्छन । उनी अहिले केहीवर्षदेखि साईभक्त भई तिनै सञ्जय साईबाबाको छाते (राणाकालमा छाता ओढाउने व्यक्ति) बनेका छन् ।

गृह सचिव प्रेम राईदेखि संघीय मामिला तथा स्थानिय विकास सचिव दिनेशप्रसाद थपलिया, प्रहरी महानिरीक्षक सर्वेन्द्र सनालदेखि प्रहरी नायव महानिरीक्षक र वरिष्ठ प्रहरी उपरिक्षक, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी सम्मिलित वैठकमा सञ्जय साईआश्रमका संरक्षक सञ्जय साईले नेपाल प्रहरीको बुद्धनगर प्रहरी प्रभागको भवनदेखि कोटदेवी—विद्यानगर प्रहरी प्रभागको भवन निर्माणमा समेत आर्थिक सहयोग गरेको र शिक्षा तथा स्वास्थ्यमा निकै समाजसेवा गरेको उल्लेख गर्दै आफुलाई व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) उपलब्ध गराउन माग गरेका थिए ।

उनले आफुलाई अज्ञात व्यक्तिहरुबाट २ पटक ज्यान मार्ने धम्की आएकोले व्यक्तिगत सुरक्षाकर्मी चाहिएको बताएका थिए । आफैं भगवान हुँ भन्ने र आफ्नो सुरक्षाको लागि व्यक्तिगत सुरक्षाकर्मी चाहियो भनेर माग गरेको सुनेपछि वैठकमा उपस्थित नेपाल प्रहरीका विशिष्ट अधिकारीहरु छक्क परेका थिए ।

व्यक्तिको सुरक्षाको आवश्यकता हेरेर मन्त्रीपरिषदको वैठकले मात्रै कसैलाई व्यक्तिगत सुरक्षाकर्मी उपलब्ध गराउनसक्ने प्रावधान छ ।