काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ५६ खेल सकिएका छन्। २४ टिम घर फर्कंदा ८ टिम क्वार्टरफाइनलमा पुगेका छन्। क्वार्टरफाइनलका खेल शुक्रबार र शनिबार हुनेछ। क्वार्टरफाइनलसम्म आइपुग्दा विभिन्न रेकर्ड र रोचक घटना भएका छन्। रेकर्ड र घटना अंकमा हेरौं –
६० – फ्रान्सका १९ वर्षीय फरवार्ड केलिएन एमबाप्पे विश्वकपमा ६० वर्षपछि २ गोल गर्ने ‘टिनएजर’ खेलाडी बने। पछिल्लो पटक ‘टिनएजर’ पेलेले विश्वकपमा २ भन्दा बढी गोल गरेका थिए। ‘टिनएजर’ गोल गर्ने एमबाप्पे पाँचौ खेलाडी हुन्।
४८ – बेल्जियमले २ गोलले पछि परेर जित निकालेको विश्वकप इतिहासमा ४८ वर्षपछिको घटना हो। २ गोलले पछि परेको बेल्जियमले जपानलाई ३–२ ले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको छ। यसअघि पश्चिम जर्मनीले सन् १९७० मा २ गोलले पछि परेको स्थिति उल्टाउँदै इंग्ल्यान्डलाई ३–२ ले हराएको थियो।
३१– जारी विश्वकपमा अहिलेसम्म १ सय ४६ गोल भएका छन्। जसमध्ये ३१ गोल ८० मिनेटपछि भए। जुन कुल गोलको २१ प्रतिशत हो।
२८ – जारी विश्वकपमा अहिलेसम्म २८ पटक पेनाल्टी दिने निर्णय गरिएको छ। जसमध्ये २१ प्रहार सफल हुँदा ७ पेनाल्टी गोल हुन सकेनन्। पेनाल्टीमा गोल गर्न नसक्नेमा अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो समेत परे।
२२ – अहिलेसम्म सकिएका ५६ खेलमध्ये २२ खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएका थिए। एक खेल भने दुवै हाफमा गोलरहित बराबरीमा सकियो।
१७– विश्वकपमा १७ खेलमा कप्तानी गर्दै मेक्सिकोका राफा मार्क्युजले कीर्तिमान बनाए। यसअघि यो रेकर्ड अर्जेन्टिनाका डिएगो म्याराडोनाको नाममा थियो। उनले ५ विश्वकप खेल्दै अर्को रेकर्ड बनाएका थिए।
१० – जारी विश्वकपमा अहिलेसम्म १० गोल आत्मघाती हुँदा रेकर्ड बन्यो। यसअघि १९९८ को विश्वकपमा ६ आत्मघाती गोल हुँदा रेकर्ड बनेको थियो।
७– मेक्सिको लगातार सातौं विश्वकपमा अन्तिम १६ बाट बाहिरियो। जारी विश्वकपमा मेक्सिकोलाई अन्तिम १६ मा ब्राजिलले पराजित गरेको थियो।
६– कप्तानको रुपमा ह्यारी केनले ६ गोल गरेर रेकर्ड बराबरी गरे। यसअघि डिएगो म्याराडोना कप्तान रहँदा विश्वकपमा ६ गोल गरेका थिए।
३– लगातार तेस्रो विश्वकपमा डिफेन्डिङ च्याम्पियन पहिलो चरणबाट बाहिरियो। पछिल्लो सिकार जर्मनी बन्दा सन् २०१४ मा स्पेन र सन् २०१० मा इटाली पहिलो चरणबाटै घर फर्किएका थिए।
३– कोलम्बियाका डिफेन्डर यारी मिना लगातार तेस्रो खेलमा गोल गर्ने पहिलो डिफेन्डर बने।
२– पेनाल्टी सुटआउटमा ३ पेनाल्टी रोक्ने क्रोएसियाका डानिजेल सुवासिक दोस्रा गोलकिपर बने। १२ वर्षअघि पोर्चुगलका रिकार्डोले पनि ३ पेनाल्टी रोकेका थिए।
०– इंग्ल्यान्डको ८ नम्बरको जर्सी लगाउने खेलाडीले पेनाल्टी सुटआउट गर्ने गर्न नसक्ने इतिहास दोहोरियो। जारी विश्वकपमा ८ नम्बरका जर्सी लगाएका जोर्डन हेन्डरर्सनले पेनाल्टी सुटआउटमा गोल गर्न सकेनन्। यसअघि ८ नम्बर जर्सी लगाउने १९९० मा क्रिस वाड्ले, १९९८ मा डेभिड बाटी र २००६ मा फ्रान्स लामपार्डले पेनाल्टी ‘मिस’ गरेका थिए।