भक्तपुरमा रङ्गशाला बनाए ‘रगतको खोला बग्ने’

4764

भक्तपुर । जनताले ‘अन्तर्राष्ट्रियस्तर’को रङ्गशाला बनाउने योजनाको विरोध गरेका छन् । सूर्यविनायक नपा वडा नं ९ नंखेल र वडा नं १० चित्तपोलमा बनाउने भनी चर्चामा रहेको रङ्गशालाको विषयमा आयोजित अन्तरक्रियामा स्थानीय जनताले कृषि क्षेत्रमा रङ्गशाला बनाएमा ‘रगतको खोलो बग्ने’ र ‘मान्छे काटिने’ सम्मका आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।
सूर्यविनायक नगरपालिका वडा नं ९ र १० का जनताले आफ्नो चुल्होसँग जोडिएको कृषियोग्य जमिनमा वडाध्यक्षहरूले नै स्थानीय जनतालाई विस्थापन गर्न खाजेकोमा आक्रोश पोखे । बिग्रेको बाटोमा एक ट्रिप ग्रावेल खन्याउन नसक्ने मान्छेहरू नै अन्तरौष्ट्रियस्तरको रङ्गशाला भन्दै हल्ला गरेकोमा स्थानीय जनताले आक्रोश पोखेका थिए ।
सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलका वडाध्यक्ष उपेन्द्र केसी र वडा नं.१० चित्तपोलका वडाध्यक्ष शिवराम राउतले आह्वान गरेको अन्तरक्रिया सुरूदेखि नै तनावपूर्ण बनेको थियो । सोहीकारण अन्तरक्रिया कार्यक्रममा पाहुनाको आसनग्रहणसमेत हुन सकेको थिएन । अन्तरक्रियामा दुवै वडाध्यक्षहरू अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणबारे आफूहरूलाई केही थाहा नभएको भनी पन्छिएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयले सहसचिवको अध्यक्षतामा गठन गरेको ठाउँ सिफारिस समितिले भक्तपुर क्षेत्र नं. २ का सांसद, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रमुख र दुवै वडाध्यक्षसमेत भएर केही हप्ता अगाडि स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनको क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले खेतीयोग्य जमिन मासेर र स्थानीय जनतालाई उठिवास पारेर रङ्गशाला बनाउने विषयमा विरोध जनाएका थिए ।
भक्तपुर क्षेत्र नं. १ का सांसद पे्रम सुवालले पनि खेतीयोग्य जग्गा र स्थानीय जनताको संस्कृतिसँग जोडिएको जमिन मासेर रङ्गशाला निर्माण गर्न उपयुक्त नहुने, देश सङ्घीयतामा गइसकेको परिस्थितिमा सबै पूर्वाधारको निर्माण काठमाडौं उपत्यकामा केन्द्रित बनाउन नहुने, पुस्तौं पुस्तादेखि बसोबास गर्दै आएका स्थानीयलाई उठिबास गर्ने गरी स्थानीयको बस्ती उठाई रङ्गशाला बनाउनु उपयुक्त नहुने आवाज संसदमा बोलेका थिए ।
अन्तरक्रियामा स्थानीय शिवशरण कार्की, प्रकाश थापा, लक्ष्मण कार्की, सूर्यभक्त त्वातीलगायतले सो क्षेत्रमा रङ्गशाला बनाउन नहुने सुझाव दिए । सो सुझावप्रति सबै सहभागीले ताली बजाएर समर्थन गरेका थिए ।
आगामी आ.व. २०७५÷७६ को युवा तथा खेलकुद मन्त्रालयको बजेटमा काठमाडौ उपत्यका, काभे्रपलाञ्चोक, नुवाकोट, धादिङ गरी ६ जिल्लामध्ये एक ठाउँमा रङ्गशालाको ठाउँ सिफारिस गर्न रू. ५० लाख बजेट विनियोजन गरिएको छ ।