सरकार जनताको पक्षमा छैन : सांसद सुवाल

694

गणेशद्वारा विद्यार्थी मार्गनिर्देशित

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयले एसईई २०७४ उत्तीर्ण विद्यार्थीलाई शुक्रबार मार्गनिर्देशित गरेको छ ।
कक्षा १० उत्तीर्ण २२ विद्यार्थीलाई बधाई ज्ञापन गर्न विद्यालयले आयोजना गरेको सो कार्यक्रममा शिक्षकदेखि सांसदसम्मले मार्गनिर्देश गरेका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधिसभा सदस्य प्रेम सुवालले विद्यार्थीले देश र जनताको सेवामा टेवा पुग्ने विषय रोज्न सुझाव दिँदै वर्तमान सरकार जनताको पक्षमा नरहेको बताए ।
उनले सरकारले जनताको पक्षमा नभएर केही पूँजीपति र केही सीमित उद्योगपतिहरुको पक्षमा नीति तथा कानून बनाउने काम गरेको चर्चा गरे । ‘यस्तै तालको सरकार हुने हो भने जनताले सुखको अनुभू ितगर्न पाउँदैनन्, सरकारको ध्यान जनताको सेवामा भन्दा अन्यत्र छ ।’ उनले भने ।
सो अवसरमा उनले सरकारकै कारण ख्वप विश्वविद्यालयले अनुमति नपाएको बताउँदै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गरेको प्रगतिदेखि सरकार डराएको उल्लेख गरे । ‘अहिले भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन गरिरहेको छ । ती शैक्षिक संस्थाहरुले न्यूनत्तम शुल्कमा शिक्षा प्रदान गरिरहेको छ । त्यो काम नगरपालिकाले गरिरहेको छ । नगरपालिकाले हस्पिटल र शिक्षालय खोल्दा शिक्षामन्त्रीको पसिना छुटेको छ ।’ उनले सरकार स्थानीय तहलाई भन्दा व्यक्तिलाई कलेज तथा अस्पताल सञ्चालन गर्न दिनेप्रति उद्यत रहेको र त्यसविपरीत नगरपालिकाले काम गर्दा मन्त्रीहरु तर्सेको उनको भनाइ थियो ।
उनले शिक्षण पेशालाई सरकारले नै बद्नाम गरेको र मर्यादित बनाउन नसकेको बताउँदै विद्यार्थीलाई देशको आवश्यकता पूरा हुने विषय रोज्न सुझाव दिए । कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै सांसद सुवालले शिक्षाको माध्यमबाट जनताको सेवा गर्ने काम पार्टीबाट विजयी जनप्रतिनीधिहरुले गरिरहेको बताए ।
उनले स्थानीय तहबाट सञ्चालित हुने पहिलो विश्वविद्यालय भनेर संसदमै पनि विधेयक दर्ता भइसकेको जानकारी दिँदै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिले सरकारमा गएका दलका नेताहरु र शिक्षामन्त्री समेत तर्सेको बताए ।
सो क्रममा सांसद सुवालले भक्तपुर नगरपालिकालाई साँस्कृतिक नगर घोषणा गर्ने प्रारम्भिक काम भएको उल्लेख गर्दै साँस्कृतिक नगरबारे अफवाह फैलाएजस्तो नहुने पनि बताए । उनले भने, ‘साँस्कृतिक नगर सभ्यता र संस्कृतिको केन्द्र हो, यो नगरमा बस्नेले विज्ञान र प्रविधिको उपलब्धिलाई पहिले उपभोग गर्न पाउँछ ।’
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख हरि दाहालले कक्ष १० सम्ममात्र विद्यालय शिक्षा हो भन्ने भ्रमलाई निराकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
उनले विद्यालयको सफलताले नै शिक्षाको स्तर मापन गर्ने बताउँदै आवश्यक दरबन्दीका लागि स्थानीय तहसँग समन्वयको काम भइरहेको बताए ।
बासु माविकी प्रअ अम्बिका न्याइच्याईले विद्यार्थीलाई असल बनाउने काम शिक्षकको भएको बताइन् ।
सो विद्यालयबाट एसईई २०७४ उत्तीर्ण २२ विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा विद्यालयका प्रअ गंगाप्रसाद याकामी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दुगुजुले पनि बोलेका थिए ।