काठमाडौं। कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मिसनरीका एकजना व्यक्तिसँग झुकेको रहस्य बाहिर आएको छ । एक महिना अगाडि हटाइएका लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलाई ओली सरकारले पुनः सोही पदमा नियुक्ति गरेको छ ।
सरकारले एक महिना अगाडि खारेज गर्ने निर्णयमा त्रिपाठी पनि परेका थिए । त्रिपाठीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरूलाई पाखा लगाउँदै पुनः सोही उपाध्यक्ष पद हत्याउन सफल भएका छन् ।
प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्तिहरूलाई खारेज गरिदिए पनि उपाध्यक्ष त्रिपाठीले अहिलेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई ‘कन्भिन्स’ गरेर सोही पदमा एकमहिनाभित्र फर्किन सफल भएका छन् ।
मन्त्री अधिकारीलाई पनि त्रिपाठीले गुमराहमा पारेको आरोप पर्यटन मन्त्रालय भित्र चलेको छ । यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा गर्ने तयारीमा ‘नेकपा’का नेताहरू रहेको स्रोतले जनाएको छ ।
लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिवमा भएको नियुक्ति प्रक्रिया खारेज गर्न र ‘नेकपा’ नेताहरूलाई नै नियुक्ति गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरिनेछ । ‘
नेकपाका एक नेताले भने, ‘अवधेशकुमार त्रिपाठीलाई नै उपाध्यक्षमा नियुक्ति गर्नु थियो भने एक महिना अगाडि किन हटाइयो ? कतै लेनदेनको कुरा त छैन ? ‘नेकपा’का कुनै पनि नेता सक्षम थिएनन् र ?’
त्रिपाठीले क्यानाडाकी महिला कोरोलिना सान्तसीसँग सम्पर्कमा छन् । क्रिश्चियन पृष्ठभूमि भएकी यी महिलालाई त्रिपाठीले ‘मम’ (आमा) भनेर सम्बोधन गर्छन् ।
सन् २००१ मा नेपाल प्रवेश गरेकी उनले क्रिश्चियन गतिविधिमै आफूलाई केन्द्रित गराएकी थिइन् । उनको मिशन भनेको बौद्ध र हिन्दूलाई क्रिश्चियन बनाएर चीनलाई प्रहार गर्नुरहेको स्रोतको भनाइ छ ।
यी महिलाले नेपालमा बसेर चीन विरोध गतिविधि गर्ने गरेको आरोप छ । क्यानडा निवासी यी महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधि समेत बढाउँदै गएकी छिन् ।
उनको यो अभियानलाई त्रिपाठीले साथ दिएको आरोप लुम्बिनी विकास कोषका एक कर्मचारीले बताए । ‘अवधेशकुमार त्रिपाठी र क्यानडाकी ती महिलाले लुम्बिनीमा क्रिश्चियन गतिविधिलाई बढाएका छन्’, स्रोतले भन्यो, ‘केही समय अगाडि पनि तिनै महिलाको आर्थिक सहयोगमा नेपालका मन्त्री र त्रिपाठीसहितको टोलीलाई क्यानडा घुमाइएको थियो ।’
उपाध्यक्ष त्रिपाठीले आइतबार पदभार ग्रहण गर्दै छन् ।