घरेलु हिँसा अन्त्यको लागि प्रहरीको आग्रह

761

काठमाडौं । आफ्नो छिमेक र टोलमा हुनसक्ने मानव वेचविखन तथा ओसारपसार र घरेलु हिंसा अन्त्यको लागि प्रहरीलाई सहयोग गर्न नेपाल प्रहरीले सर्वसाधारणसंग सहयोगको आग्रह गरेको छ ।
महानगरिय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक प्रहरी सेवा, सामुदायिक सेवा तथा विकास समाज कोटेश्वरको संयुक्त आयोजनामा शनिबार कोटेश्वरमा आयोजना गरिएको एक अन्तरसंवाद कार्यक्रममा कार्यक्रमका सहभागी स्थानीय वासिन्दासंग प्रहरीले सो आग्रह गरेको हो ।


पछिल्लो समयमा होटेल तथा रेष्टुरेन्ट, क्याविन व्यवसाय र मनोरञ्जना क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको र त्यसका लागि किशोरी, युवती र महिलालाई ललाई फकाई या वाध्य पारि यौनकार्यमा संलग्न गराउने गरेकोले यस्ता कृयाकलापलाई शुन्यमा झार्न प्रहरीले समयसमयमा शंकास्पद स्थानहरुमा छापा मार्ने गरेको महानगरिय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख तथा उत्कृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत प्रहरी निरीक्षक राजु लामाले बताए ।
समाजलाई घरेलु हिंसा, अपराध र लागुपदार्थ दुव्र्यसन मुक्त बनाउन प्रहरी र नागरिकको उत्तिकै दायित्व भएकोले नागरिकको सूचनाको आधारमा प्रहरीले त्यस्ता घटनामा संलग्न दोषिलाई कारवाहीको दायरामा ल्याएको उल्लेख गर्दै प्रहरी निरीक्षक लामाले महानगरिय प्रहरी प्रभाग कोटेश्वरले आफ्नो कार्यक्षेत्रमा यस्ता घटना हुन नदिन समयसमयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताए ।


महानगरिय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेले मानव वेचविखन तथा ओसारपसारमात्रै नभई समाजमा हुने जुनसुकै अपराधबारे सुचना दिन आग्रह गर्दै घरेलु हिंसामा परेका व्यक्ति आफैं पनि नजिकको प्रहरीमा गएर उजुरी दिनसक्ने बताए ।
‘टोलटोलमा प्रहरी अभियान’ अन्तर्गत ३ नं टोल (एसओएस टोल) का संयोजक भगवान गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको कानून शाखाका प्रहरी निरीक्षक पोषण ढकाल, ओ.भि.ए.एन नेपालकी कार्यक्रम सञ्चालक अञ्जना लामा, स्थानीय हर्क न्यौपाने, नितेशकुमार पौडेल, १० नं टोल सुधार समितिकी संयोजक राधा कडरिया तथा मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मीले मानव वेचविखन तथा घरेलु हिंसा अन्त्यका लागि गर्नुपर्ने कार्यबारे चर्चा गरेका थिए ।
यसअघि स्थानीय एसओएस टोलबाट विभिन्न विद्यालयका विद्यार्थी, प्रिन्सिपल होटेल तथा रेष्टुरेन्ट व्यवसायीहरु सम्मिलित टोलीले विभिन्न टोल परिक्रमा गरि अन्तरकृयामा परिणत भएको थियो ।
र्यालीमा साझेदारि संस्था नेपालकी टिम लिडर एवम् वरिष्ठ स्त्री तथा प्रसुती विशेषज्ञ डा.पुष्पा भट्ट, वरिष्ठ पत्रकार रामकुमार कोइराला, स्थानीय समाजसेवीहरुको पनि सहभागिता थियो ।