डोलेश्वरमा सेवा गर्ने स्काउटको प्रशंसा

584

 

भक्तपुर । केदारनाथको शीर भनेर चिनिएको भक्तपुरको डोलेश्वरस्थित डोलेश्वर महादेव मन्दीरमा हरेक सोमबार लाग्ने साउने सोमबारको मेलामा स्वयम्सेवा गर्ने स्काउट विद्यार्थीको प्रशंसा हुन थालेको छ ।

हुन त हरेक सोमबार विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले पनि स्वयमसेवा गर्दै आएका छन । तैपनि स्काउटहरुले गरेको स्वयमसेवालाई दर्शनार्थी भक्तजनहरुले मात्रै नभई डोलेश्वर महादेव संरक्षण समितिका पदाधिकारीहरुले समेत प्रशंसा गरेका हुन ।

तेस्रो हप्ताको साउने सोमबारसम्म काठमाडौं कोटेश्वरको ग्रामर स्काउट ट्रुपदेखि शान्तिनगरको बेबिलोन स्काउटलगायत दर्जनौं स्काउटले पालैपालो डोलेश्वरमा स्वयमसेवा गर्दै आएका छन् । केहीवर्षदेखि डोलेश्वर मन्दीरमा भक्तपुरका स्काउट भन्दा काठमाडौंका स्काउट बढी स्वयमसेवाका लागि डोलेश्वरमा जाने गरेका छन ।

भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त तथा ग्रामर स्काउट ट्रुपका स्काउट गुरु शिवकुमार त्वायनाका अनुसार डोलेश्वरमा स्वयमसेवा गर्ने स्काउटहरुले दर्शनार्थीहरुको लाइनलाई सहज र सरल बनाउनुका साथै उनीहरुलाई खानेपानीको व्यवस्था मिलाउने, मन्दीर परिसरमा भएका फोहोर संकलन गरी तह लगाउने गरेकोले स्काउटको प्रशंसा भएको हो । उनीहरुलाई काममा अह्राउन सजिलो भएकेले पनि स्काउटको प्रशंसा भएको बताइन्छ ।

साउनको तेस्रो शनिबार ग्रामर स्काउट ट्रुपका ४ दर्जनभन्दा बढी स्काउट डोलेश्वरमा स्वयमसेवा गर्न गएका थिए ।