सांसद : ‘एक बन्छ, दुई बन्छ, तीन बन्छ’जनता :‘बस्ती उठाउन पाइँदैन, रंगशाला हामीलाई चाहिँदैन’

854

भक्तपुर । युवा तथा खेलकूद मन्त्रालयले गत जेठ ११ गतेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० साविक चित्तपोलको भकारीमूल क्षेत्र र चाँगुनारायण नगरपालिका वडा नं. ९ साविक ताथलीको तेडोल र डाँडापाटीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेसँगै तातेको रंगशालाको मुद्धा भदौका.तेस्रो हप्ता लागेसँगै चिसो बढ्न थालेपछि पनि सेलाएको छैन ।

सरकारले जग्गा एकीकरण आवास योजनामार्फत जग्गा प्राप्तिको लागि मन्त्रालयका सह—सचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरी भक्तपुरको साविक सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा झण्डै ३८ हजार तीन सय पचपन्न रोपनी जग्गामा आवास योजना सञ्चालन गरी रंगशाला निर्माण गर्ने महत्वाकांक्षी योजनाको कारण कतिपय विकास हुने भने भनेर उत्साहित छन् भने सो क्षेत्रका स्थानीयहरु भ्ने आफूहरु विस्थापित हुने चिन्तामा छन् ।

सोही कारण उनीहरु आक्रोसित पनि छन् ।‘एकदुई जनाको हित हुने यो खालको योजनाले हामीजस्ता धेरै मान्छेको बिचल्ली हुन्छ ।’ सिन्धुलीबाट भक्तपुरको तेडोलमा बसाइ सरी आएका ईश्वर दाहाल भन्छन् ।

उनीमात्र नभए उनीजस्ता हजारौं व्यक्तिहरु मात्र नभएर सो स्थानमा बर्षौंदेखि बसोबास गर्दै आएका र सोही ठाउँको जग्गामा अन्न, तरकारी फलाएर जिविको चलाइरहेकाहरुको विस्थापन हुने स्थानीयवासीको भनाइ छ ।

आफूहरुलाई विस्थापन गर्ने योजनाका साथ सरकारले ल्याएको योजनाका कारण उनीहरु आक्रोसित छन् ।देशको सबभन्दा सानो र जनघनत्व बढी भएको जिल्लाको रुपमा चिनिएको भक्तपुरको उक्त क्षेत्रमा रंगशाला बन्न नहुने अधिकांशको मत छ ।

जिल्लाको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालको सम्पूर्ण जमिन ७०,८९७ रोपनीमा बन क्षेत्र १६,१०३ रोपनी छ भने बाँकी ५४,७९४ रोपनी मध्य ७० प्रतिशत क्षेत्रफल ३८,३५५ रोपनीमा जग्गा एकीकरण आवास आयोजनामार्फत करिब दुई हजार रोपनी जनताको जग्गा कटौती गरी रंगशाला बनाउने सरकारी योजनाबाट आफूहरु आतंकित भएको स्थानीयको भनाइ छ ।

भकारी मूलका राम कार्की, श्याम देउजामात्र नभएर ज्येष्ठ नागरिक मिठू कार्की पनि रंगशाला बन्ने भन्ने हल्ला चलेपछि रातभर निदाउन नसकेको बताउँछिन् ।‘सरकारको पहिलो प्राथमिकता जनताको गाँस, वास र कपासको व्यवस्था गर्नुपर्नेमा निम्न तथा मध्यम वर्गीय किसानको कृषि पेशालाई समाप्त गर्न खोजिएको छ ।

खेतीयोग्य जमिन विनास गरी आवास योजना सञ्चालन गरेमा जनसंख्या बृद्धिसँगै अभाव र संकट निम्तिनेछ ।’ रंगशाला बन्ने भएपछि सोको प्रतिकार गर्न गठन गरिएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण पीडित संघर्ष समिति, चित्तपोल र ताथलीका संयोजकद्वय शिवशरण कार्की र रामचन्द्र बासीले भने ।

यता चित्तपोलका स्थानीयहरुले आफ्नो ठाउँमा रंगशाला बन्ने विषयमा आफूहरुले चुुनेर पठाएका जनप्रतिनीधिहरुले सो विषयमा आफूहरुलाई जानकारी नै नदिएको पनि बताएका छन् ।

‘आफूखुुसी काम गरेर मेयर, सांसदलाई खुसी पार्ने काममा वडाध्यक्ष र अरु वडासदस्य लागेका छन्, हामीलाई यसको थाहापत्तो सम्म दिएको छैन, हामी आफै वडामा गएर सोध्दा, तपाइँको खेत र घरतिर पर्दैन भनेर फर्काउँछन् ।’ चित्तपोलका एक पीडितले भने ।

साविकको ताथली र चित्तपोलका केही क्षेत्रलाई रंगशालाका लागि तोकिएपछि दुबैति संघर्ष समिति गठन गरिएका छन् । ती समितिले स्थानीयहरुसँग छलफल पनि गरिरहेका छन् ।उनीहरुले स्थानीय जनताको हित विपरित कार्यमा भुमाफियाहरुको षडयन्त्र भएको ठहर समेत गरेका छन् ।

सोही कराण सो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने काम तत्काल खारेज गर्न पनि माग गरेका छन् । ‘बस्ती उठाउन पाइँदैन, रंगशाला हामीलाई चाहिँदैन’ भन्ने नारा नै बनाएर संघर्षका कार्यक्रम अघि बढाइरहेका छन् ।यता भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत भने सो क्षेत्रमा जसरी भए पनि रंगशाला बनाउने सोचमा छन् ।

सोही कारण पार्टीदेखि लिएर नगरपालिका, जिल्लालगायतले विभिन्न ठाउँमा हुने कार्यक्रममा उनले रंगशालाकै पक्षमा वकालत गरिरहेका छन् ।

साविक          वडा नं.     कित्ता संख्या        रोपनी       गुठी जग्गा      पर्ती जग्गा

चित्तपोल       १             ३०२        ३६१–८–०         ३१८–०–०            ४२ रोपनी

चित्तपोल       ३             १६६       १६४–१०–२        १३०–०–०             ३४ रोपनी

ताथली        ८              ४२८       ४७३–१३–०       ३९३–१३–०            ८१ रोपनी

जम्मा                         ८९६        १००० रोपनी       ८४१ रोपनी           १५८ रोपनी