प्राविधिक शिक्षामा लगानी गर्न डराउँदैनौं : शिक्षामन्त्री

330

काठमाडौ‍ं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको समृद्धिको यात्राका लागि प्राविधिक जनशक्ति आवश्यक भएको बताएका छन्। ‘अहिले देशमा प्राविधिक जनशक्ति १० प्रतिशत मात्रै छ, प्राविधिक शिक्षालय बढाउदै दक्ष जनशक्तिबाट उत्पादन बढाएर देश समृद्ध बनाउन सकिन्छ,’ मन्त्री पोखरेलले भने, ‘अबका वर्ष शिक्षामा लगानी बढ्ने वर्ष हुन्, प्राविधिक शिक्षामा लगानी गर्न अब डराउदैनौं।’

शनिबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारले प्राविधिक शिक्षा दिएर विद्यार्थीले १२ कक्षा पढेर निस्कदा काम सिकेर रोजगार बनाउने लक्ष्य राखेको बताए।

देशमा गणतन्त्र, संघीयता आइसक्दा पनि शिक्षामा रुपान्तरण हुन नसकेको भन्दै सामुदायिक विद्यालय बुझेका शिक्षकले विद्यालयको अवस्था बदल्ने जिम्मा लिनुपर्ने बताए।

‘ट्रेड यूनियन र पार्टीलाई समय बढी तर कक्षाकोठामा विद्यार्थीलाई कम समय दिनुभयो’, मन्त्रीले भने, ‘आफूसंग भएको क्षमता कक्षामा प्रस्फूटन गरिदिनुपर्यो।’

नेपालमा विद्यालय र विश्वविद्यालयको संख्या र आवश्यक स्थानको प्रक्षेपण गर्न मन्त्रालय र राष्ट्रिय योजना आयोगको सयुक्त समिति बनिसकेको जानकारी दिए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालले कृषि तथा वनका विषयगत विश्वविद्यालय खुलिसकेपछि देशमा रहेका ११ वटै विश्वविद्यालयले कृषि र वनमा सम्वन्धन दिनु उपयुक्त नहुने बताए।

प्रदेश सभा सदस्य डाक्टर रणबहादुर रावलले यहाँका जनताले २०४८ सालदेखि माग गर्दै आएको कृषि क्याम्पसको माग पूरा गरेकोमा धन्यवाद दिदै कृषि, पशु, वनविज्ञको अभाव पूरा हुनेमा विश्वास व्यक्त गरे।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुर शहरको योजनामा हजार विघा बस्ती, हजार विघा, वन र हजार विघा कृषि रहेकोमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज संचालनमा स्थानीय सरकारको पूरा सहयोग हुने प्रतिवद्धता जनाए।

गत वर्षदेखि कृषि विज्ञानमा ५० जना विद्यार्थीको भर्ना गरी पढाइ शुरु गरेको कलेजको भवनका लागि दश विघामा क्षेत्रमा शिलान्यास गरिएको हो। कलेजले हाल बीरेन्द्र बहुमुखी क्याम्पमा कक्षा संचालन गरिरहेको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन जयप्रकाश दत्तको अध्यक्षतामा भएको कार्यक्रमको संचालन ताराप्रसाद जैसीले गरेका थिए।

Source link