
काठमाडौं। मेगा सिमेन्टले ५१ करोड ५० लाख रुपैयाँको दीर्घकालिन ऋणको ‘केयर एनपी डवल वि’ रेटिङ पाएको छ। केयर रेटिङ नेपालका अनुसार यो रेटिङले ‘भूक्तानी गर्नु भन्दा अगाडि मध्यम किसिमको जोखिम’ रहेको जनाउँछ।
त्यस्तै ८ करोड ५० लाख रुपैयाँको अल्पकालिन ऋणको रेटिङमा भने ‘केयर एनपी ए फोर’ प्राप्त गरेको छ।यो रेटिङले ‘सबै भन्दा सुरक्षित ऋण’ भएको देखाउँछ।हाल दैनिक दुर्इ सय टन सिमेन्ट उत्पादन गरिहेको मेगाले उद्योगको क्षमता बढाएर दैनिक ११ सय टन सिमेन्ट उत्पादन गर्ने योजना अनुसार ऋण खोजेको हो।
उद्योगले सन् २०१९ को अक्टोबरमा आयोजना निर्माण गरिसक्ने योजना बनाएको छ। उद्योगलार्इ ७३ करोड ५० लाख रुपैयाँ रकम आवश्यक छ। यो रकमको लागि ३० करोड ९० लाख रुपैयाँ शेयरबाट र ४२ करोड ७० लाख रुपैयाँ ऋणमार्फत जुटाउने उद्योगको योजना छ। उद्योगले सुरुवातमा १३ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ।
केयर रेटिङका अनुसार अनुमति प्राप्त गरेर पनि क्षमता अनुसार उद्योग निर्माण गर्न नसक्दा रेटिङ कम आएको हो। अझै पनि धेरै काम गर्न बाँकी रहेकोले सन् २०१९ अक्टोबरमा व्यावसायिक उत्पादनमा चुक्ने अनुमान गरिएको छ।
नेपालमा हाल ५० वटा भन्दा धेरै सिमेन्ट उद्योग रहेको हुँदा स्थापित ब्राण्ड सँग थप प्रतिस्पर्धा गर्नुपर्ने भएकोले बजार स्थापित गर्न जोखिम हुने कम्पनीले जनाएको छ।उद्योगले सन् २०१८ मा २७ हजार २९७ टन सिमेन्ट बिक्री गरेको छ। नेपालमा सन् २०२३ सम्म वार्षिक एक करोड टन सिमेन्ट आवश्यक पर्छ। आगामी ५ वर्षसम्म सिमेन्टको बजार राम्रो रहेको छ।
कम्पनीले ५ वटा ब्राण्डका ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले नमस्ते, कावेली, नमस्ते गोल्ड र टपसिम नाममा सिमेन्ट बिक्री गर्दै आएको छ। कम्पनीको अध्यक्षमा मीनप्रकाश मैनाली रहेका छन् भने प्रवन्ध निर्देशकमा कुमार अग्रवाल छन्।
मेगा सिमेन्टले क्षमता विस्तारका लागि माग्यो साढे ५१ करोड ऋण, उद्योगले पायो कमजोर रेटिङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।










































