सञ्जिता खनाल
- बाह्रखरी
- २०७५ असोज १२ शुक्रबार ०९:१६:००
काठमाडौ । नेपालमा हरेक वर्ष करिब २ लाख महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन गर्ने गरेको पाइएको छ । हालै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकमा नेपालमा हरेक वर्ष १ लाख ८६ हजार १ सय ४४ महिला तथा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको जनाइएको छ । तर नेपालमा सुरक्षित गर्भपतनको क्षेत्रमा गरिएका प्रयासहरू अझै पनि आफ्नो लक्ष्य हासिल गर्न पर्याप्त नभएको तथ्यांकहरूले देखाएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख कविता अर्यालले नेपालमा असुरक्षित गर्भपतन विकराल रुपमा रहेको बताइन् । उनले भनिन् “असुरक्षित गर्भपतन गराउने महिलामा शारीरिक, मानसिक, आर्थिक तथा भावनात्मक समस्यासमेत आउने समस्या हुन्छ ।”
समुदाय क्षेत्रमा हुने मातृ मृत्युमध्ये १३ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनकै कारणले हुने मन्त्रालयको तथ्यांकले देखाएको छ भने १९ प्रतिशत महिलामा अनिच्छित गर्भ रहने गरेको छ । नेपालमा प्रति घण्टामा २१ जनाले असुरक्षित गर्भपन गर्ने गरेको पाइएको छ ।
नेपालको जनसांखिकीय स्वास्थ्य सर्वेक्षण २०१६ले नेपालका प्रजनन् उमेर समुहका ४१ प्रतिशत महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता बारेमा जानकारी रहेको देखाएको छ ।
त्यसैगरी, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.विमला बछारका अनुसार असुरक्षित गर्भपतनको कारणले अधिक रक्तस्राब हुने, पाठेघर तथा भित्रि अंगहरुमा चोटपटक लाग्नुका साथै संक्रमण हुने, बाँझोपनको समस्या आउने तथा मृत्यु समेत हुने अवस्था छ । “असुरक्षित गर्भपतनले सुरक्षित गर्भपतन गराउने महिलामा शारीरिक, मानसिक, आर्थिक तथा भावनात्मक समस्यासमेत आउने गरेका छन् ।” उनले भनिन् “असुरक्षित गर्भपतन गराउने २० देखि ३० प्रतिशत महिलामा प्रजनन् संक्रमण हुने खतरा हुन्छ ।”
सरकारले ७७ वटै जिल्लाका सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरू तथा केही निजीस्तरबाट सञ्चालित स्वास्थ्यसंस्थाहरूमा गर्भपतन सेवा उपलब्ध गराएको छ । गर्भपतन गरेका ४ जना महिलामध्ये १ जनामा कहिलेकाहीं दीर्घकालीन समस्या देखापर्ने गरेको चिकित्सकहरु बताउँछन् ।
नेपालमा सन् २००२ (वि.सं. २०५९)मा सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । तर, सुरक्षित गर्भपतन सेवाको सुरुवात भने २००४ मा भएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउँछन् । जसमा ४४ हजार महिला तथा किशोरीहरुको मृत्यु हुने गरेको छ भने ५० लाख महिलालाई दीर्घकालीन स्वास्थ्य समस्या देखापर्ने गरेको छ । अनिच्छित गर्भलाई सुरक्षित पतन गराउनका लागि आवश्यक सीप नभएका तथा तोकिएको मापदण्ड अनुसारको सुविधा नभएका स्थानमा गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनेर संगठनले परिभाषित गरेको छ । हाल विश्वमा जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको मातृ मृत्युको चारवटा कारणहरुमध्ये एक असुरक्षित गर्भपतन रहेको संगठनले जनाएको हो ।
आर्थिक वर्ष २०७३/०७४ मा ९६ हजार ४ सय १७ महिलाले मात्र सुरक्षित गर्भपतन गराएका छन् । आईपास नेपालको सन् २०१४को तथ्यांक अनुसार विश्वमा हुने असुरक्षित गर्भपतन मध्ये करिब १४ प्रतिशत २० वर्ष भन्दा मुनिका किशोरीहरुको रहेको छ ।