भक्तपुर : भारतको हरिद्वारबाट सञ्चालित नेपालस्थित पतञ्जली योग समिति विभाजन भएको छ । नेपालस्थित पतञ्जली वर्षौं बसेका योग अभियन्ताले विद्रोह गर्दै समानान्तर योग समिति गठन गरेका हुन् ।
सुदर्शन सुवेदीको नेतृत्वमा पतञ्जलीबाट अलग्गिएकाहरुले पातञ्जल योग समिति नेपाल स्थापना गरेका हुन् । जसको अध्यक्ष सुवेदी नै छन् । पतञ्जलीलाई नेपालमै वैधानिक, आधिकारिक स्वायत्त र स्वतन्त्र संस्थाको रुपमा विकास गर्न नेपालस्थित नेतृत्व तयार नभएपछि आफूहरु पातञ्जल योग समिति गठन गर्न बाध्य भएको दावी गरेका छन् ।
समितिले सोमबार पत्रकार सम्मेलन गर्दै संस्था दर्ता गरी सञ्चालनमा ल्याएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष सुवेदीले पतञ्जली नेपाललाई भारतबाट सञ्चालित हुने प्रथाको अन्त्य गरौँ भन्दा नेपालस्थित नेतृत्व तयार नभएपछि पतञ्जलीमा विद्रोह गर्न बाध्य भएको बताए ।
‘पतञ्जलीलाई नेपालको कुनै पनि निकायमा दर्ता गर्न, संस्था सञ्चालन गर्ने विधिविधान बनाउन नेतृत्व तयार भएन’, उनले भने, ‘दर्ता नभएको, आफ्नै विधि विधान नभएको संस्था र यसले गर्ने सम्पूर्ण क्रियाकलाप अवैधानिक हुन्छ । पतञ्जली पनि नेपालको लागि अवैधानिक संस्था हो । त्यसैले हामीले वैधानिक रुपमा पातञ्जल योग समिति नेपाल दर्ता गरेका हौं ।’
यसबाहेक अध्यक्ष सुवेदीले पतञ्जली अवैधानिकमात्रै नभई यसले नेपालमा पैसा उठाई भारत पठाउँदै आएको र यस्तो काम राष्ट्रघातसमेत भएको बताए । पतञ्जलीले नेपालको राष्ट्रियता र अखण्डतामा आँच पु¥याउने कार्य गर्दै आएको समेत सुवेदीले आरोप लगाए ।
‘पतञ्जलीले नेपालीलाई उसको उत्पादनको व्यापारिक एजेन्टमात्रै बनाएका छन्’, उनले थपे, ‘पतञ्जलीले नेपाल र नेपालीलाई लुट्ने काममात्रै गर्दै आएको छ । नत्र नेपालबाट उठेको रकम नेपालमै योगको विकास तथा आयुर्वेदको विकासमा लगानी गर्नुपथ्र्यो ।’
कार्यक्रममा सुवेदीको अध्यक्षतामा १३ सदस्यीय पातञ्जल योग समिति नेपाल केन्द्रीय समिति गठन भएको जानकारी दिइएको छ । जसअनुसार उपाध्यक्षमा राजभक्त श्रेष्ठ, सचिवमा नवराज काफ्ले र कोषाध्यक्षमा जानुका भट्टराई छन् ।
यस्तै योगप्रसाद आचार्यको अध्यक्षतामा २३ सदस्यीय भक्तपुर जिल्ला समिति गठन गरिएको जानकारी दिइयो । जसमा उपाध्यक्षद्वयमा धर्मबहादुर श्रेष्ठ र रञ्जु सापकोटा, सचिवमा बुद्धलक्ष्मी त्वायना, सहसचिवमा सृजना मल्ल ठकुरी र कोषाध्यक्षमा गोविन्द गोजा श्रेष्ठ रहेका छन् ।
केन्द्रीय सचिव काफ्लेले समितिलाई ७७ वटै जिल्लामा विस्तार गरिने जानकारी दिए । उनले पातञ्जलले पनि नेपाली जडिबुटी प्रयोग गरी विभिन्न आयुर्वेदिक उत्पादन गर्ने लक्ष्य रहेको सुनाए।