मातृभाषा शिक्षा सरकारको दायित्व

663

० कृष्ण प्रजापति
प्रत्येक वर्ष भक्तपुरमा नेपालभाषा साहित्य तःमुँज्या सञ्चालन भैरहेको आज आएर ३८ वर्ष पुगिसकेको छ । त्यसैगरी बिराट नेपालभाषा साहित्य सम्मेलन गुथि सञ्चालन भएको पनि ५५ वर्ष भैसकेको छ । यो अवस्थामा भक्तपुरमा त धेरै नै नेपालभाषाका साहित्यकारहरुको जन्म हुनु पर्ने थियो । तर त्यस्तो खाइलाग्दो खालका नेपालभाषाका साहित्यकार जन्मन सकेको पाइन्दैन । यस स्थानमा जन्मेर पनि काठमाडौलाई आफ्नो कर्म स्थल गरिरहनु भएका कवि पूर्ण वैद्य, योगेन्द्र प्रधानलगायत केही हातको औंलामा गन्न भ्याउने गरी मात्रै नेपालभाषाका साहित्यकारहरु तयार भएको देखिन्छ । त्यसले पनि भक्तपुरमा चलिरहेका ती साहित्यिक संस्थाहरुले देखाउने हिसावले मात्रै ती साहित्य सम्मेलन, साहित्य गोष्ठी र साहित्य तःमुँज्या गरेको पाइएको छ । ती विशेष गरी वर्षको एक पल्ट मै सीमित रहे । त्यसले खासै साहित्यिक रुपमा उपलब्धी हासिल गर्न सकिने देखिन्न ।
मातृभाषाको माध्यमबाट साहित्य लेख्ने धेरै व्यक्तिहरुले राणा काल, पंचायती शासन व्यवस्था र हालसम्म पनि निकै ठूला क्षति भोग्नु परेको छ । मातृभाषाबाट पत्रकारिता गरेकै कारण आफ्नो खेत र घर बेच्नु परेका एक दिग्गज नेपालभाषाका अग्रज पद्मरत्न तुलाधरको यो वर्ष मात्रै ७७ वर्ष नाघेको अवसरमा ज्याजंकू वा बुढो पास्तीको कार्य सम्पन्न भयो । पद्मरत्न जस्तै धेरै व्यक्तिले आफ्नो भाषा, जाति र अस्तित्वको लागि मरिमेट्ने गरेको पाइन्छ । तर कोही नेपालभाषा वा मातृभाषाको पत्रिका चलाएर धनी बन्ने वा उच्च ओहदामा पुगेर प्रशस्त पैशा कमाउन सकेको वा जनजीवन नै परिवर्तन गर्न सकेको पाइँदैन । यो राम्रो आर्थिक उपार्जनको क्षेत्र होइन । देशमा मातृभाषाको अस्तित्व जोगाउन राज्य सरकार आफै अगाडि बढ्नु आवश्यक छ । त्यसको लागि हाल शिक्षा विधेयक संशोधन गरी मातृभाषा माध्यमबाट शिक्षा दिक्षा दिनु पर्ने सोच अगाड आइरहेको छ ।
परापूर्व कालमा मातृभाषाबाट पढ््नु पर्दछ भन्ने धारणा थिएन । पछि मास्टर जगतसुन्दर मल्लले पुनर्जागरण कालमा आफ्नो मातृभाषाबाट शिक्षा दिए चाँडो सिक्ने सकिन्छ भन्ने नयाँ धारणा अगाडि सारे । नेपाली भएर अंग्रेजी, जापानी, रोमन, ग्रीस वा चाइनिज जे भाषा पनि सिक्ने गर्नु पर्दछ । तर आफ्नो मातृभाषा नेपालभाषा, नेपाली वा अन्य जनजातिले बोलिने भाषालाई पनि जगेर्ना गर्ने र परिवार वा समुदायमा त्यो भाषाबाट बोल्नु आवश्यक छ । नेपालभाषा मातृभाषा भैकन पनि आफ्ना सन्तान र बाल बच्चा देख्ने बिटिक्कै कनि कनी वा नजानी नजानी खस् नेपाली भाषा बोल्ने गलत संस्कार युवा पीडिमा देखा परेको छ । त्यसैबाट हो हाम्रो हजारौं वर्ष देखि विकास हुँदै आएको अमूल्य गहना भाषा लोप हुने । त्यसैले पनि भाषा जस्तो विषयमा अति नै संवेदनशील हुनु जरुरी छ ।
नेपालमा पुरानो भाषा भनेकै मैथिली र नेपालभाषा मात्रै हो । नेपालभाषा ६ सय वर्ष पुरानो साहित्य भएको भाषा हो । अझ यस भाषामा ९ थरी लिपि पनि छन् । जब कि नेपाली भनिएको खस् भाषा, अंग्रजी भाषा, ब्रिटिस भाषाको लिपि छैन । नेपालभाषामा रञ्जना लिपि, प्रचलित नेपाल लिपि, भुजिंमोल लिपि, कुंमोल लिपि, क्वँय्मोल लिपि, लितुमोल लिपि, गोलमोल लिपि, हिमोल लिपि, पाचुमोल लिपि गरी ९ थरी लिपि छन् । त्यसको साथै प्राचीन थ्यासफू र सयौं वर्ष अगाडिदेखि साहित्य नाटक र कथा अस्तित्वमा रहेको भाषा हो । त्यसको संवद्र्धन र विकास गर्नको लागि नै राणा कालको अत्य संगसंगै भक्तपुरमा नेपाल साहित्य मन्दिर, बिराट गुथि र नेपालभाषा साहित्य तःमुँज्याको अस्तित्व देखा परेको हो । तर ती संघ संस्थाहरु स्थापना कालमा जस्तो जोश जागरका साथ अगाडि देखा परेको थियो पंचायती व्यवस्थाको अत्य र बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापना भएसंगै यसको महत्व चिप्लेर गएको भान पर्ने गरेको छ ।
समय अनुसार विभिन्न संघ संस्थाको अस्तित्व र उपदेयतामा परिवर्तन आउनु स्वाभाविक पनि हो । हिजो कुनै राजनीतिक दबू थिएन र पार्टी वा संगठनहरुले ती दबू नै उपयोग गरी शासन सत्ताको बिरोध गर्नु जरुरी थियो । अहिले सदन वा प्रतिनिधिसभा मार्फत् पनि आफ्नो असन्तोष व्यक्ति गर्ने छुट पाएको छौं । त्यसैले पनि त्यस खालका दबूको अस्तित्वमा संकत पैदा भएको हो । तर पनि निरन्तर अगाडि बढ्नको लागि भने साहित्य, दर्शन र सिद्धान्तले निकै ठूलो सहयोग गरिरहेको हुन्छ । नेपालमा पनि पुरानो खालको भाषा नेपालभाषा, मैथिली, भोजपुरी लगायतलाई पनि सरकारले उचित रुपमा संरक्षण गर्न सकेको खण्डमा त्यसको पुराना र राम्रा साहित्यहरु अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरी विश्व माझ पस्कन सक्ने वा पस्कन योग्य साहित्य धेरै छन् । सितला माजु, जि वया ला लछि मदुनि जस्ता अत्यन्तै घटलाग्दा रचनाहरुले विश्व साहित्यमा नयाँ आयाम थप्ने देखिन्छ । कयौं वर्ष पुरानो र नेवार समुदायले अनुभव गरेको घटना संगालेर लेखेको सितला माजुको विषयमा धेरै रचना पाइन्छ ।
सरकारले हाल कक्षा १० सम्म मातृभाषामा अध्ययन गर्न पाउने भयो भनी विधेयक प्रस्ताव गरेको अवस्था छ । यो निकै राम्रो कुरा पनि हो । हिजोसम्म पठन पाठनको अभावमा सिर्जना गरिएका कतिपय रचना वा पाठ पनि कनी कनी पढ्नुपर्ने र पढाउनु पर्ने स्थिति थियो । अहिले आएर सरकारले नै दायित्व बोध गरी पाठ्यक्रम बनाउने र त्यसलाई लागू गर्ने प्रयास गर्ने वातावरण तयार गर्ने आश्वासनले यसको दवाव स्वरुप अझै केही काम गर्न बाँकी रहेको पाइन्छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलसंग भाषा अग्रज पद्मरत्न तुलाधरसंगको भेटमा हालै १० कक्षासम्म निःशुल्क र अनिवार्य रुपमा नै मातृभाषाबाट पठन पाठनको व्यवस्था गर्ने कुरा अगाडि आएको थियो । त्यसले गर्दा पनि नेपालमा के कस्तो गर्दा भाषा जागरण आउने हो भन्ने सोच्नु पनि आवश्यक छ । हिजो सम्म भाषा क्षेत्रमा काम गर्ने मानिसहरुले बिहान र बेलुका एक छाक खान पनि मुस्किल परिरहेको कुरालाई ध्यानमा राख्ने भएकाले पनि यो चुनौतीको विषय रहेको छ । दुई हप्ता अगाडि सदनबाट मातृभाषामा अध्यापन गराइने दायित्व राज्यको हुने भन्ने विधेयक पारित भएको छ । यो साह्रै सहाहनीय विषय हो ।
मातृभाषामा शिक्षा निरन्तर रुपमा दिने गरेको जगतसुन्दर ब्वनेकुथि, विभिन्न भाषिक संघ संस्था लगायत भक्तपुरमा रहेका विभिन्न साहित्यिक संघ संस्थाहरुले काम गर्न सकेको खण्डमा मात्रै पनि नेपालभाषाको लागि धेरै राम्रो हुन देखिन्छ । त्यसको चर्चा गर्दा हालै भारतका विभिन्न भागबाट आएका २२ जना युवाहरु मध्यपुर बसी आफ्नो मातृभाषा सिकेको कुरालाई स्मरण गर्नु पर्ने हुन्छ । त्यसैगरी नेपालभाषा साहित्य तःमुँज्याको तर्फबाट विनिला राजचलको अध्यक्षतामा नेपालभाषा ब्वने पुचः गठन गरी काम अगाडि बढाउने प्रयास थालेकोलाई पनि यहाँ स्मरण गर्न योग्य देखिन्छ ।