आत्मसमीक्षाको सही सुरुवात

403

यो वर्ष नेपालभाषा साहित्य तःमुँज्याले ३८ वर्ष पछि पहिलोपल्ट चार दिन पछि नै दुई दिनसम्म भएको नेपालभाषा साहित्य तःमुँज्यामा प्रस्तुत भएका साहित्य र सांस्कृतिक विधाको आत्मसमीक्षा ग¥यो । यस्तो कार्य यो भन्दा अगाडि कहिल्यै भएको थिएन् । भएपनि त्यसलाई त्यतिको महत्व भने दिएको पाईंदैन । यो वर्ष भने तःमुँज्याका प्रमुख अतिथि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहित, अतिथि नेमकिपा केन्द्रीय सचिव सांसद प्रेम सुवाल, तःमुँज्या केन्द्रीय समितिका सचिव तथा ३ नम्बर प्रदेशका सांसद सुरेन्द्रराज गोसाई सहित तःमुँज्या केन्द्रीय समितिका अध्यक्ष चन्द्रबहदुर उलकहरुले आफूहरु मात्रै बसेर भएपनि दरिलो आत्मसमीक्षा भयो । यस्तो कार्यले आफ्ना कमी कमजोरीहरुलाई अब कसरी सुधार गरी जाने भन्ने कु्रालाई जोड दिने गरेको पाइन्छ । सामान्य दृष्टिकोणले हेर्दा यो एक हिसावले आत्मप्रशंसा वा आत्मरती जस्तो देखिएपनि यो कार्यले पछि पछि कार्यक्रमहरुलाई सुधार गर्ने बाटो प्रशस्त हुने कुरामा भने दुई मत हुनेछैन ।
पहिला पहिला यसरी लेखक, कलाकार र सांस्कृतिक विधाया अग्रजहरु बोलाएर समीक्षा गरेको पाईंदैन । यो वर्ष यस किसिमले आत्मसमीक्षा गरी नेपालभाषा साहित्य तःमुँज्याले एक हिसावले ३८ वर्ष पछि भएपनि अबको समयमा कसरी अगाडि बढ्नु पर्ला भन्ने स्पष्ट पार्न खोजेको देखिन्छ । यो नेपालभाषा साहित्य तःमुँज्याको दबू क्रमशः साहित्यकारहरुको दबू भन्दा पनि भाषण गर्ने नेता र प्रवचकहरुको थलोको रुपमा परिणत हुँदै गइरहेको गुनासो धेरै पहिलेदेखि नै सुनिन थालिएको थियो । यो वर्ष त साहित्यिक मञ्चबाटै सो कुराको घोर आलोचना भयो । पन्ध्र वर्षसम्म सांस्कृतिक विधा प्रस्तुत गर्दा समेत पनि कुनै पुरस्कारको बन्दोबस्त नभइरहेको तमुँज्याको दबूमा प्रसिद्ध साहित्यकार, कलाकार तथा निर्देशक रामशेखर नकर्मिले अब सांस्कृतिक विधालाई पनि मूल्यांकन गरी पुरस्कार व्यवस्था गर्नु पर्याे भनी यःसिंखेलको तःमुँज्यामा मन्तब्य दिन पुगेपछि त्यस पछि नासमनामा भएको नेपालभाषा साहित्य तःमुँज्याको सांस्कृतिक विधाको लागि मूल्यांकन समिति खडा गरी त्यसको अर्को साल क्वाठण्डौमा भएको दुई दिने तःमुँज्याको दोश्रो दिनको साँझ सांस्कृतिक विधाको पुरस्कार प्रदान गरेको थियो ।
यो वर्ष ३८ औं नेपालभाषा साहित्य तःमुँज्याको दबूमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पहिलो दिनको पहिलो बक्ता बनेर बोल्ने क्रममा तःमुँज्याको दबू भाषण दबूको रुपमा परिणत हुन थालेको तीतो सत्यलाई उजागर गर्दै यस साहित्यिक दबूलाई सर्जक र साहित्यकारहरुकै दबूको रुपमा कायम राख्न सुझाव दिनु भएको थियो । त्यसैलाई ध्यानमा राखी पहिलो पल्ट यो साहित्यिक समीक्षा भएको देखिन्छ । यति महत्वपूर्ण साहित्यिक दबूलाई भाषण मात्रै गरेर समय खेर फालेको घटनाबाट वाक्क दिक्क भइरहेको बखत पहिलोपल्ट कलाको बारेमा समीक्षा गरी यो वर्ष भाषा, कला र साहित्यको क्षेत्रमा तःमुँज्याले महत्वपूर्ण पाइला चालेको देखिन्छ । त्यसमा पनि प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले पनि तःमुँज्याकै दबू प्रयोग गरी पहिलो पल्ट नेपालभाषाको माध्यमबाट पनि पत्रकारिता गर्नुपर्ने र त्यसको लागि भक्तपुरमा पनि एउटा प्रकाशन गृह व्यवस्था हुनुपर्ने जस्ता महत्वपूर्ण कुरामा तःमुँज्याको ध्यानाकर्षण गर्नु भएको सराहनीय विषय हो ।
नेपालभाषा साहित्य तःमुँज्या सुरुवात गर्नु अगाडि वा चालीस वर्ष अगाडि नै रोहितले यो कुरा महसुस गर्नु पर्ने थियो । त्यो बेला देखि नै यस जिल्ला भक्तपुरबाट पनि हामीले नेपालभाषाबाट एउटा पत्रिका प्रकाशन गर्नु पर्दछ भन्ने धारणा अगाडि सार्नु पर्ने थियो । किनभने भक्तपुरबाट उपत्यका छोडेर बाहिर गएकाहरुले भक्तपुरलाई नै आफ्नो पुरानो स्थानको रुपमा लिने गरेको पाइन्छ । त्यसैले पनि भक्तपुरले गर्ने भाषिक नेतृत्वको महत्व नै अलग्ग हुने देखिन्छ । अहिले आएर मात्रै भक्तपुरका एक अग्रज व्यक्तित्वले भक्तपुर जिल्लाबाट नेपालभाषाको भाषिक पत्रकारिताको लागि आह्वान गर्नु भयो । ढिलो घर पुगेकोलाई हराएकोभ भन्न मिल्दैन । अहिले देशमा थुप्रै किसिमका पत्रपत्रिका, रेडियो र टेलिभिजनमा नेपालभाषाको समाचार तथा कार्यक्रमहरु सञ्चालन भइरहेको यस समयमा सो कुरा गर्नका लागि रोहित बाध्य हुनु पनि सकारात्मक पक्षको रुपमा लिनु पर्दछ ।
हुनत आज भन्दा आठ दश वर्ष अगाडि नै तःमुँज्याको सांस्कृतिक विधाको पुरस्कार वितरण गर्नको लागि आदर्श आजाद माविमा भएको पुरस्कार वितरण समारोहमा कान्तिपुर र नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यमहरुले कहिल्यै पनि जनताको कुरा प्रचार नगरिएका कारण अब नेमकिपाले आफ्नै टेलिभिजन सञ्चालन गर्ने घोषणा रोहितले गर्नु भएको थियो । त्यो बेला घोषणा गरेको काम अहिलेसम्म थाति नै रहेपनि यो वर्ष भने भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मञ्चबाटै मनमै छुने ढंगले गर्नु भएको कुरा र रोहित आफैले पनि नेपालभाषाको माध्यमबाट भक्तपुरमा पत्रकारिता गर्नु पर्ने महसुस गर्नु भएको कारण यो समयमा भक्तपुरमा भाषा क्षेत्रमा केही फड्को मार्ने पो हो कि भनी आशा गर्न सकिन्छ । बीस वर्ष अगाडि पनि सन्ध्याकालीन जस्तो एउटा सानो पत्रिका हामीले पनि निकाल्न सक्छौं भनेपछि नै २०५५ माघ १० गते पार्टीको रजत जयन्तीको अवसरमा मजदुर दैनिक पत्रिका प्रकाशित थियो । अब भक्तपुर जिल्लाबाट नेपालभाषाको एउटा पत्रिका निस्कनु राम्रो पक्ष पनि हो ।
भक्तपुर जिल्लाबाट यो भन्दा अगाडि पनि नेपालभाषाबाट पत्रिका प्रकाशन गर्ने प्रयास नभएको होइन । लुँध्वाखा, ख्वप टाइम्स, यःमरी जस्ता नेपालभाषाका पत्रिकाहरु निकाल्ने भनी जिल्ला प्रशासन कार्यालयमा पत्रिका दर्ता पनि भएका छन् । तैपनि राजनीतिक र आर्थिक कारणले गर्दा हाल सम्म पनि त्यो कार्य थाति रहेको अवस्था छ । यी सबै कुराहरुलाई ध्यानमा राखी समयमै नेपालभाषा साहित्य तःमुँज्या जस्ता राजनीतिक नेतृत्वले पनि सहयोग गरिरहेको भाषिक संस्थाहरुबाट केही गर्ने प्रयास गरेको खण्डमा यो कार्य असम्भव भने छैन । होइन भने नेपालभाषाबाट प्रकाशन गृहको निर्माण गर्नुपर्ने सुझावसंगै उर्लिएको यो भावना पनि हात्ती आयो हात्ती आयो फुस्सा भने झैं हुनेछ । नेपालभाषा क्षेत्रमा अलग्ग पहिचान बनाएर भाय् व साहित्य जस्ता एकांकी संग्रह, बया वंगु लँपू जस्ता नाटक संग्रह र मां भाय् व मां भाय् थकायेगु लँपू जस्ता सैद्धान्तिक पुस्तकहरुको प्रकाशन गरी अगाडि बढिरहेको नेपालभाषा साहित्य तःमुँज्याको इतिहास अझ अगाडि बढाउँदै लाने हो भने नेपालभाषा साहितय तःमुँज्या जस्ता सक्षम र सवल संस्थाहरुले नै नेतृत्वदायि भूमिका निभाउनु जरुरी छ । होइन भने केही वर्ष सञ्चालन भएर मृत्युको शैया पुगेका छेफ परिवार, बाल साहित्य मण्डल, झ्याम्बोलोम्वा कला समूह, राज कला केन्द्र र प्रगतिशील साहित्य सम्मेलन जस्तै नेपालभाषा साहित्य तःमुँज्या पनि एक इतिहासको पानामा सीमित हुन पुग्नेछ । यस कुरालाई ध्यानमा राखेर अब नेपालभाषा शुद्ध रुपमा लेख्ने, पढ्ने, नेपालभाषाका पत्रपत्रिका प्रकाशन गर्ने, भाषा कक्षालाई पनि निरन्तरता दिने तथा भाषिक गतिविधिहरुलाई पनि निरन्तर अगाडि लाने हो भने आज नभए पनि भोलि भक्तपुरमा नेपालभाषा माध्यम भाषाको रुपमा लेख्न सक्ने र पढ्न सक्षम भएर साहित्य, कला र पत्रिकारिताको क्षेत्रमा अझ धैरै योगदान दिने वातावरण स्थानीय नेवाः समुदाय बीच रहने छन् । होइन भने वर्षको एकपल्ट श्राद्ध गरे जस्तै तःमुँज्या गर्नुको कुनै तूक रहने देखिन्न । यस कुरामा सबैको ध्यान जानु जरुरी देखिन्छ । अनि मात्रै ३८ औं तःमुँज्याको समीक्षाको महत्व झल्किनेछ ।