भक्तपुरः नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुरको ताथली र सिपाडोलमा निमार्ण गर्न लागिएको रंगशालाको विरोध गरेका छन् ।
सिपाडोलमा भएको ‘जनतासँग सांसद’ कार्यक्रममा बोल्दै सुवालले जन चाहाना विपरित यहाँ रंगशाला निमार्ण गर्न लागिएको जसले गर्दा हराजौं जनता विस्थापित हुने अवस्था आएको बताएका हुन् ।
उनले भने, ‘सरकारले काठमाडौं उपत्यकाकै दशरथ रङ्गशाला र सात दोबाटोस्थित खेलकुद कम्प्लेकस मर्मत सम्भार गरेको छैन । भूकम्पमा क्षति भएका देशभरिका रङ्गशालाहरु पनि मर्मत भएको छैन । रङ्गशालाको लागि ठाउँ सिफारिस गरेकै आधारमा रु ५० लाख बजेट भ्रष्टाचार गर्न लागेकाहरु भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला राख्ने कोसिस गर्दैछन् । भक्तपुरको ताथली र सिपाडोलमा रङ्गशाला बनाइए हजारौँ मानिस विस्थापन हुनेछन् । त्यस्तो जनविरोधी काम नगर्न आग्रह समेत गर्दछौं ।’
ओली सरकारले सुन तस्करका ‘ठूला माछो’ पक्राउ गर्न नसकेको वास्तविकता चर्चा गर्दै सचिव सुवालले भने, ‘समयमा काम पूरा नगर्ने खराब ठेकेदारलाई र खाडी मुलुकमा बेचबिखन गर्नेहरुलाई यो सरकारले कारबाही गर्न सकेनन् ।’
उनले भने, ‘दुई वटा वाइडबडी खरिदमा रु आठ अर्ब भ्रष्टाचार भएको सार्वजनिक भयो, ओली सरकारले भारतको दबाबमा जन्मको आधारमा नेपाली नागरिकता पाएकाका सन्तानलाई वंशज नेपाली नागरिकता दिने र तराई–मधेश अलग बनाउने गरी संविधान संशोधन गर्दैछन् । यस्तो सरकार देश र जनताको हुनसक्दैन ।’
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका संयोजक सूर्यभक्त त्वातीले स्थानीय सरकारमा ठेक्कापट्टालाई जोड दिएर कमिसन खाने र भ्रष्टाचार गर्ने प्रवृत्ति व्याप्त हुँदै आएकोमा सचेत नागरिकले विरोध गर्नुपर्ने बताएका थिए ।
प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलुले जनताको पीर मर्का नबुझी, जनतालाई नै उठिवास गराउने गरी रङ्गशालाको निम्ति सांसददेखि वडाध्यक्षसम्म दौडधूप गर्नुले यिनीहरु जनताको मतले होइन पैसाले चुनाव जितेको बताए ।
मकिपा सूर्यविनायक ८ वडा समितिका अध्यक्ष श्यामसुन्दर सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका रोशन मचामसी र उमेश सेजुवालले पनि बोलेका थिए ।







































