भक्तपुर अस्पतालभित्र भक्तपुर नपाको ‘दादागिरी’ !

2364

भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालको चौघेरा पर्खालभित्र सार्वजनिक शौचालय निर्माण अघि बढाएको छ । उसले अस्पतालको दक्षिण पश्चिम कुनामा धमाधम सार्वजनिक शौचालय निर्माण गरिरहेको हो ।
तर भक्तपुर अस्पतालले आफूलाई कुनै पनि जानकारी नदिई अस्पताल परिसरभित्र नपाले शौचालयको बनाएको आपत्ति जनाएको छ ।
इनडेफ्ट डटकम लेख्छ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले भक्तपुर नगरपालिकालाई पत्र नै काटेर उक्त शौचालय निर्माणमा आपत्ति जनाएकी हुन् ।
भक्तपुर नगरपालिकाको नाउँमा लेखिएको पत्रमा मेसु डा. देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश नम्बर ३ स्थित सामाजिक विकास मन्त्रालय र भक्तपुरस्थित जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ गरेकी छन् ।
पत्रमा लेखिएको छ, ‘यस अस्पताल परिसरको पश्चिमतर्फको कम्पाउन्ड वाल भत्काई निर्माण कार्य गर्न लागेको पाइएकोले अस्पतालको जानकारीविना के प्रयोजनको लागि कसले निर्माण गर्न लागेको हो, सोसम्बन्धी जानकारीसहित आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।’
उक्त पत्र मेसु डा. देवकोटा आफैले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेटेर बुझाएको अस्पतालले जनाएको छ । उक्त पत्रमा केन्द्र सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ ।
अस्पताल हाल प्रदेश सरकारअन्तर्गत रहेको छ । प्रदेशअन्तर्गत गएलगत्तै सामाजिक विकास मन्त्रालयले अस्पतालको अध्यक्षमा भक्तपुरकै मिलन सुवाललाई नियुक्तिसमेत गरिएको छ ।
अध्यक्ष सुवालले अस्पतालमा विधिवत पद बहाली गरेको हप्तादिनमै भक्तपुर नपाले शौचालय निर्माणको कार्य अघि बढाएको हो । यसलाई अस्पताल स्रोतले अस्पतालभित्र भक्तपुर नपाको ‘दादागिरी’ भएको संज्ञा दिएको छ । जसले गर्दा भक्तपुर अस्पतालमा पुनः राजनीतिक द्वन्द्व बढ्ने सम्भावना बढेको छ । सुवाल सत्तासिन नेकपाका जिल्लास्तरीय नेता हुन् ।
यता भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले सतप्रतिशत नतिजा निकालेको हो । शौचालय निर्माण सम्बन्धमा पत्र लिएर गएकी अस्पतालकी मेसु डा. देवकोटालाई भक्तपुर नपाका प्रमुखले दिएको जवाफले पनि राजनीतिक द्वन्द्व बढ्ने देखिएको हो ।
अस्पताल स्रोतका अनुसार नगर प्रमुख प्रजापतिले डा. देवकोटाले हप्काएकी थिइन् । ‘डाक्टर साहेब तपाईं अस्पताल बनाउन आउनुभएको हो भने त्योअनुसार काम गर्नुहोस्, होइन भने राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुको कुरा सुनेर हामीकहाँ नआउनुहोस्’, नगर प्रमुख प्रजापतिको भनाइ उद्धृत गर्दै अस्पताल स्रोतले भन्यो, ‘मेयरज्यूको कुरा सुन्दा उहाँ भक्तपुर अस्पतालमा नियुक्ति भई आउनुभएका अध्यक्षलाई मान्नुहुन्न ।’
अस्पतालका अध्यक्ष सुवालले अस्पताल परिसरमा कुनै निर्माण गर्नुअघि अस्पतालसम्म एकपटक भए पनि जानकारी दिनुपर्ने बताउँछन् । जानकारी दिँदैमा कोही ठूलोसानो नहुने उनको भनाइ थियो ।
‘भक्तपुर नगरपालिका स्थानीय सरकार हो’, उनले भने, ‘भक्तपुर अस्पताल पनि सरकारकै एक अंग हो । यसको सम्पत्तिको संरक्षण गर्नु अस्पताल र नपा दुवैको कर्तव्य हो ।’
नपाले जानकारी नदिँदा कुनै बाहिरी पक्षले पो बनाएको हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको अध्यक्ष सुवालको भनाइ थियो ।

जग्गा सार्वजनिक हो : प्रजापति

भक्तपुर नपाका प्रमुख प्रजापतिले भने नगरभित्रको सार्वजनिक जग्गामा शौचालय निर्माण गरिएको स्पष्टीकरण दिए । अस्पताल परिसरमा नभई नवदर्गा बसपार्कको नाउँमा सार्वजनिक जनिएको जग्गामा शौचालय निर्माण अघि बढाएको उनले स्पष्ट पारे ।
‘भक्तपुर अस्पताल र भक्तपुर नपा दुवैले प्रयोग गर्न मिल्ने गरी शौचालय बनाउने प्रयास १५ वर्षअघि देखि भइरहेको थियो’, प्रमुख प्रजापतिले भने, ‘तर अस्पतालमा नियुक्ति भई आउने अध्यक्षहरुको कारण प्रयास विफल हुँदै आयो । तर यसवर्ष नपाले सार्वजनिक जग्गामा शौचालय निर्माण अघि बढाएको हो । यसमा अस्पतालले आपत्ति जनाउनुपर्ने केही छैन ।’

शौचालय निर्माणबारे १५ वर्षअघि नै सहमति

अस्पताल परिसरमा शौचलय निर्माणबारे २०६० साल फागुन ४ गते भक्तपुर नपा र भक्तपुर अस्पतालबीच सहमतिसमेत भएको थियो । तत्कालीन शाहीशासनकालमा भक्तपुर नपाको मेयर र उपमेयरमा मनोनीत दिनेश श्रेष्ठ र राजेन्द्र लाखा तथा अस्पताल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष धनमान श्रेष्ठ र मेसु डा. केशवभक्त श्रेष्ठले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सहमतिपत्रमा अस्पतालको प्रशूति गृह निर्माण गर्न भक्तपुर नपाले आवश्यक निर्माण सामग्री गरिद गर्न ३० लाख रुपैयाँ उपलब्ध गराउने र अस्पताल आउने बिरामी, कुरुवा र आफन्तहरु तथा भक्तपुरमा आउने पर्यटकहरुको लागि सार्वजनिक शौचालय बनाउन अस्पताल परिसरको पश्चिमतर्फ उपयुक्त ठाउँमा भक्तपुर अस्पतालले आवश्यक जग्गा उपलब्ध गराउने उल्लेख गरिएको छ । उक्त शौचालय भक्तपुर नपाले निर्माण एवं सञ्चालन गर्नेसमेत उक्त सहमतिपत्रमा उल्लेख छ ।
भक्तपुर नपा १ वडाका सचिव दामोदर लिबीले यही सहमतिमा टेकेर भक्तपुर नपाले अहिले शौचालय बनाएको जानकारी दिए ।
उनका अनुसार भक्तपुर अस्पतालले उनकै जग्गा उपलब्ध गराउने भनेको थियो । जुन ठाउँमा अस्पतालले अहिले गाडी पार्किङ गर्ने स्थायी ग्यारेज बनाएको छ ।
भक्तपुर अस्पतालले सहमतिअनुसार उनको जग्गा नदिएपछि नपाले सार्वजनिक जग्गामा शौचालय बनाएको सचिव लिबीले बताए ।
मालपोत कार्यालयको जग्गाधनी दर्ता श्रेस्तामा शौचालय निर्माण अघि बढाएको जग्गामा श्री ५ को सरकार (सार्वजनिक जग्गातर्फ) मोटरपार्क उल्लेख छ । भक्तपुर नपा १७ ङ को कि.नं २२४ रहेको उक्त जग्गाको क्षेत्रफल सात रोपनी आठ आना रहेको छ ।