अमेरिकामा तापक्रम माइनस ४७, अस्ट्रेलियामा १९३९ यताकै चर्को गर्मी

312

काठमाडाैं- अमेरिकाको तापक्रम माइनस ७० सम्म पुग्ने अनुमान मौसमविद्हरूले गरिरहेका बेला अस्ट्रेलियामा भने भीषण गर्मी छ । गत साता अस्ट्रेलियाको एडिलेडमा तापक्रम ४६.६ डिग्री पुगेको छ ।

जुन सन् १९३९ यताकै चर्को गर्मी हो । अमेरिकामा भने चिसो र हिउँका कारण शुक्रबारसम्म २१ जनाको मृत्यु भइसकेको छ । अलास्का, अन्टार्टिका र उत्तरी ध्रुवमा भन्दा अमेरिकाको सिकागोमा चिसो बढी छ । बिहीबार यहाँ माइनस ३२ डिग्री तापक्रम रेकर्ड भएको थियो ।

हिमपातका कारण सिकागोमा मात्र १७ सय उडान रद्द गरिएका छन् भने हुलाक सेवा स्थगित छन् । विस्कन्सिनमा १९४९ को रेकर्ड तोडदै ३२.५ सेन्टिमिटरसम्म हिमपात भएको छ भने मानिटोकमा २६.७ सेमि हिउँ परेको छ ।

जुन १९१८ को रेकर्डभन्दा बढी हो । अमेरिकी राष्ट्रिय मौसम विभागले उत्तरी इलिनोइसमा चिसो हावा माइनस ४८ डिग्री पुग्ने अनुमान गरेको छ भने अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अस्ट्रेलियामा भने निरन्तर तापक्रम बढदै गएपछि ८ राज्यसहितका क्षेत्र प्रभावित भएका छन् । तातोका कारण अस्ट्रेलियाभर नै सडक पग्लिएका छन्, आगलागीका कारण भौतिक संरचनामा क्षति पुगेको छ भने जंगली जनावर, पशुपक्षी र नदीका माछा मर्न थालेका छन्।

दक्षिणी सहर एडिलेडमा गत जनवरी २४ मा अहिलेसम्मकै तातो (४६.६ डिग्री) मापन गरिएको थियो। स्वास्थ्य अधिकारीहरूले नागरिकलाई गर्मी दिनमा घरभित्रै बस्न, शारीरिक क्रियाकलाप कम गर्न र पानी बढी पिउन सल्लाह दिएका छन् ।