काठमाडौं : चालु आर्थिक वर्षको बजेटमार्फत राखिएको लक्ष्यहरू घटाइएको छ। अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै चालु खर्च, पूँजीगत खर्च, वित्तीय व्यवस्थापन खर्चको साथै राजश्व आम्दानी र बैदेशिक सहायता परिचालन खर्च सबै घट्ने प्रक्षेपण गरेको हो।
चालु आर्थिक वर्षमा १३ सय १५ अर्बको बजेट विनियोजन गरिएकोमा ९१.२ प्रतिशत अर्थात ११ सय ९९ अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ। विनियोजित बजेटमध्ये चालु खर्च आठ खर्ब ४५ अर्बमध्ये सात खर्ब ९८ अर्ब, पूँजीगत खर्च तीन खर्ब १३ अर्बमध्ये दुई खर्ब ६५ अर्ब रुपैयाँ र वित्तीय खर्च एक खर्ब ५५ अर्बमध्ये एक खर्ब ३५ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको तुलनामा क्रमशः ९४ प्रतिशत, ८४ प्रतिशत र ८७ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
प्रदेश विभाज्य कोषसहित नौ खर्ब १७ अर्बको कुल राजश्व उठाउने लक्ष्य राखिएकोमा ८७ प्रतिशत अर्थात आठ खर्ब ६ अर्ब रुपैयाँको राजश्व उठ्ने अनुमान गरिएको छ। वैदेशिक सहायता ३९ अर्ब ४८ करोढ रुपैयाँ लिने लक्ष्य राखिएकोमा ६८ प्रतिशतमात्रै रहने अनुमान गरिएको छ भने बैदेशिक ऋण एक खर्ब ६३ अर्बको लक्ष्य राखिएकोमा ६४.४ प्रतिशत मात्रेको लक्ष्य राखिएको छ।
सरकारले मुद्रा स्फिति तोकिएकै सीमाभित्र ६.५ प्रतिशतमा राख्ने लक्ष्य राखे पनि आर्थिक वृद्धि कति हुन्छ भन्ने प्रक्षेपण गरेको छैन। ‘सातदेखि आठ प्रतिशतको बीचमा आर्थिक वृद्धिको लक्ष्य हुने संशोधित अनुमान छ तर कति भन्ने विषयमा आधिकारिक रूपमा तथ्यांक विभागले तथ्यांक निकाल्ने छ’ अर्थमन्त्री डा. युवराज खतिवडाले भने। उनले केही ठूला आयोजनामा बजेट कार्यन्वयनमा समस्या देखिएको कारण अपेक्षित खर्च हुन नसकेको स्वीकारेका छन्।
‘हामीले धेरै काम गर्नुपर्छ भन्ने हिसाबले नै छ महिनामाको अवधिमा ३५ प्रतिशत बजेट खर्चको लक्ष्य राखेका थियौँ, त्यो पनि पूरा हुन सकेन। केही आयोजनाहरूमा देखिएको समस्याको कारण यस्तो भएको हो’ अर्थमन्त्री खतिवडाले भने अब मेहनत गर्नु पर्ने स्थिति छ। उनले राजश्व वृद्धि सरकारले चाहादा गर्न सक्ने भए पनि आयात बढाएर देशको संचित घटाउने र राजश्व बढाउने नीतिमा सरकार नलागेको बताएका छन्। तर, गर्त वर्षको तुलनामा देशको संचित भने निरन्तर घटेको छ। छ महिनाको अवधिमा ७९ अर्ब संचित घाटा रहेको छ।