हेटौंडा। राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता नेपाली जनताको माग नभएको बताएका छन् । हिन्दू राष्ट्र पुनःस्थापनाका लागि प्रदेश–३ को राजधानी हेटौंडामा आइतबार हस्ताक्षर अभियान सुरु गर्दै उनले नेपाली जनताको मतविपरीत धर्मनिरपेक्षता घोषणा गरिएको बताएका हुन् ।
हिन्दू राष्ट्र पुनःस्थापना तथा राजसंस्था बाहालीको माग गर्दै राप्रपाले सुरु गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत हस्ताक्षर अभियानको सुरुवात गर्दै अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता विदेशीको प्रभावमा केही नेताले ल्याएको आरोप लगाए ।

जनताको माग र जनआन्दोलनको भावनाविपरीत देशलाई लैजान खोजेकाले त्यसको खबरदारी राप्रपाले गर्न लागेको उल्लेख गरे ।
उनले राप्रपाले उठाएका मागमा जनताको साथ रहेको दाबी गरे । प्रधानमन्त्री केपी ओलीलाई राप्रपाले बुझाएको २२ बुँदे मागका सम्बन्धमा सरकारले कुनै चासो नदेखाएकाले अब आन्दोलनबाट आफ्ना जनतामा राखेर सडकबाटै स्थापित गर्ने थापाले उल्लेख गरे ।
अध्यक्ष थापाले नेपालमा रहेका अन्य धर्म मान्नेहरूको दबाबका कारणमा हिन्दू धर्मलाई मेट्ने काम नभएको बताए । केही नेताले व्यक्तिगत स्वार्थमा लागेर देशलाई धर्म निरपेक्ष बनाएको उनको भनाइ छ । उनले हिन्दू राष्ट्र पुनःस्थापना र लोकतन्त्रसहितको राजसंस्थाका लागि राप्रपाले आन्दोलन गर्ने बताए ।
राप्रपाले घोषणा गरेको आन्दोलनको कार्यक्रममा हिन्दू धर्म पुनःस्थापनाका लागि २३ चैतसम्म हस्ताक्षर अभियान, २५ र २८ चैतमा प्रदेश सरकार र स्थानीय तहका कार्यालयमा धर्ना दिने, ५ वैशाखमा धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने, ८ वैशाखमा राजमार्गमा २ घण्टा धर्ना दिनेलगायतका कार्यक्रम रहेको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।







































