बारा र पर्साका हुरीबतास पीडितलाई नेकपाका सांसदहरुले एक दिनको कांग्रेस सांसदहरुले दुई दिनको तलब दिने

269

काठमाडौं । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि नेकपाका सांसदहरुले एक दिनको तलब दिने निर्णय गरेको छ ।

नेकपाको संसदीय दलको बैठकले नेकपाका सबै सांसदहरुको एक एक दिनको तलब प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटमा उल्लेख छ ।

प्रधानमन्त्रीको ट्वीटमा भनिएको छ ‘बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।’

यस्तै नेपाली कांग्रेसका संघीय सांसदहरुले दुई दिनको तलब हावाहुरी पिडितलाई दिने निर्णय गरेका छन । विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने नेपाली कांग्रेस संसदीय दलले निर्णय गरेको हो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म तीन दर्जन भन्दा बढिको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

हालसम्म हावाहुरीका कारण ४०३ घाइते भएका छन् । हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज, कलैया अस्पताल, तराई अस्पताल, एड्भान्स अस्पताल, गण्डकी अस्पताल र वीरगञ्ज हेल्थ केयर युनिटमा ४०३ जना घाइतेको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।

ती घाइतेमध्ये ११ जनालाई यहाँस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचार गर्न ल्याइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।