राज्यकै अनुमतिमा धर्म प्रचार

393

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ ।

समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । यसबारे लेखा समितिअन्तर्गतको उपसमितिले समाजकल्याण परिषद्, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जबाफ माग्ने भएको छ ।

ती संस्थाले करोडौं रुपैयाँ खर्च गरी धर्म प्रचार गरिरहेको दाबी उपसमितिको छ । ‘क्रिस्चियन धर्म प्रचार गर्न संस्थालाई कसरी अनुमति दिइएको छ ? केही आईएनजीओले सबै हिन्दूलाई पादरी बनाउने मिसन लिएर काम गरिरहेका छन् । यस्तो काम गर्न अनुमति दिने निकायलाई नियन्त्रण गर्नुपर्छ’, उपसमितिका संयोजक विरोध खतिवडाले भने । नागरिकले स्वेच्छाले धर्म परिवर्तन गर्न पाउने तर कुनै संस्थाको पैसाको लोभले धर्म परिवर्तन गराउनु कानुनविपरीत रहेको उनले बताए । उनले भने, ‘यो नेपाल र नेपालीको हितमा छैन। त्यसैले नियन्त्रण हुनुपर्छ ।’, अन्नपूर्ण पोस्टामा खबर छ ।