श्रमिक शान्ति मावि च्यासलको नवनिर्मित भवन हस्तान्तरण

624

ललितपुर। २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षति भएको ठाँउमा नवनिर्मित श्री श्रमिक शान्ति मावि ललितपुर—९, च्यासलको दुईतल्ले ४ कोठे पक्की (आरसिसि) भवन आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्र्तगत ललितपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६३ लाख ८६ हजार रुपैयाँको लागतमा सो पक्की भवन तयार गरिएको थियो । सोको लागि विद्यालयले ५ लाख रुपैयाँ थपेको थियो भने सामुदायीकस्तरबाट करीव १८ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो ।
सो भवनको निर्माण सम्पन्न गरि सामाजिक लेखा परिक्षण पश्चात आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको भवनलाई विद्यालयले यसैवर्षदेखि प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद सिटिइभिटीबाट सम्वन्धन लिएर सिभिल इन्जिनियरिंग विषयको ३ वर्षे डिप्लोमा तहको पढाई सञ्चालन गर्न थालिसकेको छ ।
ललितपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख प्रकाश महर्जनले ललितपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष राजु महर्जनलाई तथा अध्यक्ष महर्जनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र हस्तान्तरण गरे । अध्यक्ष व्यञ्जनकारले सो प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक सानुलाल ब्यञ्जनकारलाई हस्तान्तरण गरेका थिए ।


हस्तान्तराण् कार्यक्तमलाई सम्बोधन गर्दै ललितपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख प्रकाश महर्जनले सरकारले स्थानीय जनताका वालवालिकाले सरल र गुणस्तरीय शिक्षा पाउन भनेर सामुदायीक विद्यालयमा लाखौं रुपैयाँ लगानी गर्दै आएको कुरा नबुझेर स्थानीय जनता भने आफ्ना छोराछोरीलाई महंगो शुल्क तिरेर टाढाका नीजि विद्यालयमा पढन पठाउने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
सामुदायीक विद्यालयमा सित्तैमा पढ्न पाइन्छ भन्दा जनता नमान्ने भए अब उनीहरुसंग केही शुल्क लिएर भएपनि सामुदायीक विद्यालयले स्थानीय जनताका छोराछोरी पढाउने वातावरण बनाउनेतर्फ सोच्नुपर्ने अवस्था आएको पनि प्रमुख महर्जनले बताउनुभयो ।
कार्यक्रममा वडा नं ९ का अध्यक्ष राजु महर्जनले ९ नं वडाको शैक्षिक सम्पत्तिको रुपमा रहेको सो विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि वडाले क्रमश बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानुलाल महर्जनले विद्यालयको गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने सहायक प्रधानाध्यपक पवन विक्रम कार्की तथा व्यवस्थापन समितिका सदस्य राजु व्यञ्जनकारले पनि बोल्नुभएको थियो ।