महेन्द्र शान्ति बालकोटको नवनिर्मित भवन हस्तान्तरण

338

भक्तपुर। २०७२ साल बैशाख १२ र २९ गतेको महाभूकम्पबाट क्षति भएको ठाँउमा नवनिर्मित श्री महेन्द्र शान्ति मावि बालकोटको दुईतल्ले ४ कोठे पक्की (आरसिसि) भवन आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्र्तगत भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ६२ लाख ४२ हजार रुपैयाँको लागतमा सो पक्की भवन तयार गरिएको थियो । निर्माण सम्पन्न गरिएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख डिल्लीश्वर प्रधानले सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतलाई सो भवनको निर्माण सम्पन्न गरिएको प्रमाणपत्र हस्तान्तरण गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सुर्यविनायक नगरपालिका २ का वडाध्यक्ष कमलनाथ आचार्यको उपस्थितिमा उपप्रमुख बस्नेतले सो प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक गोपालविक्रम थापालाई हस्तान्तरण गरीन । हस्तान्तरण गरिएको भवनको उपप्रमुख बस्नेतले उद््घाटन गरीन ।
विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष एवम् निर्माण समितिका अध्यक्ष हेमन्तकुमार कार्कीले विद्यालय निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । अध्यक्ष कार्की सो विद्यालयमा स्थापना गरिएको ५ लाख रुपैयाँको ‘स्व.कृष्णबहादुर कार्की—स्व.हीराकुमारी कार्की—स्व.अर्जुन कार्की छात्रवृत्ति कोष’का पनि संस्थापक अध्यक्ष हुनुहुन्छ ।
हस्तान्तरण कार्यक्रममा भक्तपुर जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख डिल्लीश्वर प्रधान, सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेल, पुर्वप्रमुख हरिप्रसाद दाहाल लगायतले विद्यालयले छोटो अवधिमा गरेको प्रगतीबारे आआफ्नो विचार राखेका थिए भने विद्यालयका प्रधानाध्यपक गोपाल विक्रम थापा, पुर्व प्रधानाध्यापक ध्रुवबहादुर ठकुरी, पुर्व विद्यार्थी समाजका अध्यक्ष बाबुराजा जोशी र सहायक प्रधानाध्यापक रामचन्द्र भट्टराई लगायतले नवनिर्मित भवनको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा शिक्षसेवीहरुको सहभागिता थियो ।