राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विचार गोष्ठी

82

भदौ १५,
भक्तपुर नगरपालिकाले राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा मंगलबार विचार गोष्ठी आयोजना गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनतालाई शिक्षित र देशलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । पुस्तकालय भनेको ज्ञानको भण्डार हो भन्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपालका पुस्तकालयहरु अझै व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो ।

भक्तपुरमा रहेको सार्वजनिक पुस्तकालयहरुको व्यापक सदुपयोग गर्नुपर्ने औंल्याउनुहुँदै उहाँले पुस्तकालय व्यवस्थापकहरुको स्तरवृद्धि र पुस्तकालय व्यवस्थित सञ्चालनको लागि नगरपालिकाले प्राविधिक तथा आवश्यक सहयोग गर्नुपर्छ भन्नुभयो ।सार्वजनिक पुस्तकालयहरुमा दक्ष जनशक्तिको अभाव देखिएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले पुस्तकालयमा आउने पाठकलाई राम्रोसँग व्यवहार गर्ने र पुस्तक दिने जनशक्ति व्यवस्थापनमा पुस्तकालयहरुले ध्यान दिनुपर्ने बताउनुभयो । पुस्तकालयमा बस्ने जनशक्तिलाई वैज्ञानिक पुस्तकालय व्यवस्थापनबारे तालिमहरु सञ्चालन गर्नुपर्ने, प्राचीन महत्व बोकेका पुस्तकहरुको संग्रह पुस्तकालयले सुरक्षित ढंगले राख्नुपर्ने र नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
समाजमा आमूल परिवर्तनको निम्ति शिक्षालाई जोड दिनुपर्छ भन्दै उहाँले भन्नुभयो, हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान र प्रविधिको विकाससँगै आधुनिक र प्रविधियुक्त पुस्तकालयको महत्व झन् बढ्दै गएको बताउनुहुँदै भक्तपुर नगरपालिकाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई थप व्यवस्थित र समायानुकूल सुधार गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, जनज्योति पुस्तकालयमा इ. लाइब्रेरीको विकास, उच्च शिक्षाको लागि अध्ययन गर्न छुट्टै व्यवस्थित अध्ययन कक्षको व्यवस्था र उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र बुद्धिजिबीहरुको सुझावअनुसार थप पुस्तकहरु राख्ने हामीले तयारी गरिरहेका छौं ।
पुस्तकालय भनेको नयाँ बिषय अध्ययन अनुसन्धान गर्नेहरुको लागि अत्यन्त उपयोगी ठाउँ भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो, हाम्रा प्राचीन पुस्तक र पत्रपत्रिकाहरु पनि पुस्तकालयहरुमा सुरक्षित गर्नु आवश्यक छ ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुस्तक पढ्ने बानी र पुस्तलकालयसँग अभ्यस्त रहने बानीले सुसंस्कृत, सुसुचित र सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुहुँदै उपप्रमुख जोशीले समाजका हरेक क्षेत्रमा राष्ट्रिय, नगरस्तरीय, विश्वविद्यालय, कलेज÷विद्यालयस्तरीय मात्र नभई वडा÷ टोलहरुमा समेत पुस्तकालयहरु अपरिहार्य भएको बताउनुभयो ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपालमा संस्थागत रुपमा पुस्तकालय स्थापना भएको २०० वर्षभन्दा लामो इतिहास पूरा भएको बताउनुहुँदै भक्तपुरको साकोथामा अवस्थित साफू कुथि छेँ नेपालकै पहिलो पुस्तकालय भएको र यसबाट भक्तपुर शिक्षाको केन्द्रको रुपमा रहेको प्रष्ट भएको बताउनुभयो ।