बलम्बुको फ्लाइओभरका लागि ३० करोड रुपैयाँ रकमान्तर, मुआब्जा वितरण सुरु हुने

13
Ncell बलम्बुको फ्लाइओभरका लागि ३० करोड रुपैयाँ रकमान्तर, मुआब्जा वितरण सुरु हुने

काठमाडौं। निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले बलम्बुमा प्रस्ताव गरेको फ्लाइओभर निर्माण अघि बढ्ने भएको छ। प्रस्तावित फ्लाइओभरको सीमांकनमा पर्ने जग्गा अधिग्रहणका लागि स्रोत अभावका कारण रोकिएको थियो।

अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ रकमान्तर गरेसँगै मुआब्जा वितरण प्रक्रिया अघि बढेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सडक विभागका खर्च नभएका ५ सडक आयोजनाबाट ३० करोड रुपैयाँ रकमान्तर गरेको हो।

आयोजना प्रमुख नरेशमान शाक्यले मुआब्जा वितरण प्रक्रिया सुरु गरिसकेको बताए। उनका अनुसार ४ जनाले मुआब्जा लिनका लागि निवेदन दिइसकेका छन्। आगामी साताबाट मुआब्जा वितरण सुरु हुनेछ।

आयोजनाको सिमांकनमा पर्ने १२ रोपनी जग्गा, पक्की र टहरा गरी ५७ वटा संरचना भत्काउनुपर्नेछ। जसको दररेट तय भइसकेको छ। फ्लाइओभरमा जग्गा पर्नेले आनाको ५० लाख रुपैयाँ पाउनेछन्।

तीन महिनाभित्र मुआब्जा वितरण गरिसक्ने लक्ष्य रहेको शाक्यले बताए। ‘एक महिनामा जग्गाको मुआब्जा वितरण थाल्नेछौं। त्यसका लागि अर्को साताबाट कामै सुरु हुन्छ,’ उनले भने, ‘घर लगायतका संरचनाको पनि आधा पैसा दिइसक्छौं। भत्काउनका लागि दुई महिना समय दिनुपर्छ। त्यसपछि पुरा पैसा दिन्छौं।’

मुआब्जाका लागि १ अर्ब १४ करोड रुपैयाँ लाग्नेछ। बाँकी स्रोतको समेत व्यवस्थापन छिटै हुने शाक्यको भनाइ छ। उनका अनुसार चालु वर्षका लागि आयोजनालाई ९ अर्ब ६७ करोड रुपैयाँ शोधभर्ना लिनेगरी बजेट विनियोजन गरिएको छ। सुरुङमार्ग निर्माण गरिरहेका जापानका प्राविधिकका अनुसार यो बर्ष ४ अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान गरेका छन्।

‘पछि शोधभर्ना गर्नेगरी विनियोजन गरिएको ९ अर्ब ६७ करोडबाटै रकमान्तर गरेर मुआब्जा वितरण गर्ने योजना बनाएका छौं। सडक विभागले मौखिक सहमति दिएको छ। हामीले फाइल उठाएका छौं। मंगलबार नै अघि बढ्छ,’ उनले भने,’अर्थ मन्त्रालयले स्वीकृति दिनेबित्तिकै हामीले मुआब्जा वितरणको कुनै समस्या हुँदैन।’

निर्माण सुरु गरेको ८ महिनामा काम सक्ने लक्ष्य छ। लक्ष्य अनुसार काम भए यो नेपालकै पहिलो फ्लाइओभर हुनेछ। फ्लाइओभरको चर्चा हुने गरे पनि अहिलेसम्म निर्माण सुरु हुन सकेको छैन। फ्लाइओभर पृथ्वी राजमार्गको सेन्ट्रल दुई लेनबाट निर्माण हुनेछ। चार लेन राजमार्गको मुख्य दुई लेन फ्लाइओभरका लागि प्रयोग हुने भएका कारण आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो।

राजमार्गबाट सुरुङमार्गको काठमाडौंतिर बन्ने पोर्टलसम्म जानका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो। जसको डिजाइन तयार भइसकेको छ। राजमार्गबाट सुरुङमार्गतिर मोडिदा जाम हुन सक्ने भन्दै फ्लाइओभर निर्माण गर्न लागिएको हो। प्रस्तावित दुई लेनको फ्लाइओभर १२८ मिटरको लामो हुनेछ।  एउटा लेन ३.५ मिटरको हुनेछ। १२८ मिटर फ्लाइओभरबाट करिब तीन किमि पहुँच (एक्सेस) सडकमार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ। अहिले पहुँचमार्ग निर्माणको काम चलिरहेको छ।

नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा-आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्नेछ। आयोजनाको ठेक्काभित्रै रहेकाले उसैले निर्माण गर्नेछ।। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण भइरहेको छ। कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकार र ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने सहमति छ।

आयोजनाको करिब २५ प्रतिशत काम सकिएको छ। अहिले फुल फ्लेजमा २४ सै घण्टा काम चलिरहेको शाक्यले दाबी गरे। ‘दुर्घटनाका कारण केही समय काम सुस्त भयो। अहिले पुरा गतिमा काम भइरहेको छ,’ उनले भने,’२ हजार मिटरभन्दा बढी सुरुङ खन्नेका काम भइसकेको छ।’ सुरुङमार्ग चन्द्रागिरी नगरपालिकाको टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा निस्कने छ। जसको लम्बाइ २.७ किमि हुनेछ।