राजधानीमै सामूहिक बलात्कार

48

सोमबार मात्रै काठमाडौं आइपुगेकी सुर्खेतकी एक महिलालाई नयाँ बसपार्कबाट १६ घन्टा नियन्त्रणमा लिएर बलात्कार गर्ने नौजना पक्राउ

मंगलबार दिउँसो एक महिला आफूमाथि ९ जनाले सामूहिक बलात्कार गरेको मौखिक उजुरी लिएर महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क पुगिन् । राजधानीमै यति जघन्य अपराधको उजुरी प्रहरीका लागि नै अचम्मलाग्दो थियो । तर, अनुसन्धानका क्रममा महिलाको उजुरी सही साबित भयो, मंगलबार र बुधबार गरि प्रहरीले सामूहिक बलात्कारमा संलग्न नौजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार बेलुका ८ बजेदेखि मंगलबार मध्याह्न १२ बजेसम्म करिब १६ घन्टा नियन्त्रणमा लिएर उनीहरूले नयाँ बसपार्क क्षेत्रका तीन गेस्टहाउसमा लगेर ३४ वर्षीया महिलालाई बलात्कार गरेका थिए । प्रहरीले सिसिक्यामेराको सहयोगमा आरोपीलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले उजुरी प्राप्त भएलगत्तै ठूलो टिम बनाएर विस्तृत अनुसन्धान गरेर सबै आरोपीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए । ‘सातजनालाई मंगलबार बेलुका नै पक्राउ गर्‍यौँ,’ उनले भने, ‘अन्य दुईजनालाई बुधबार पक्राउ गरेका हौँ, घटना कसरी भयो भन्ने थप अध्ययन गर्दै छौँ ।’

पीडित युवती मंगलबार मात्रै सुर्खेतबाट काठमाडौं आएकी थिइन । उनको अहिले अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । ‘पीडित महिलाको अवस्था सुधारोन्मुख छ,’ एसपी मैनालीले भने ।

पक्राउ पर्ने नौ युवकमध्ये आठजना मुगुको छायाँनाथ नगरपालिकाका छन् । हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद छायाँनाथ नगरपालिकाका हुन् । अर्का आरोपी गोपालकुमार शिरीष भने अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा बस्दै आएका युवक हुन् । उनीहरूमध्ये केहीले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

महिलालाई अन्तिमपटक गोपालकुमार शिरीषले बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । महिलाले उजुरी दिएको केही घन्टामै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी केही दिनमै कतार उड्न लागेका थिए ।

शिरीषपछि हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल मंगलबार बेलुका पक्राउ परेका हुन् । हस्त नेपाली र चन्द्र साउदलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरू सबै विदेश जाने प्रयोजनका लागि बसपार्कका गेस्टहाउसमा बसेका थिए । सुरुमा युवराज र हिक्मत नेपालीले होटेलमा लगेर उनलाई बलात्कार गरेको र पछि अन्य साथीहरूलाई समेत बोलाएर बलात्कार गर्न लगाएका थिए ।

आरोपी र पीडितबीच पूर्वचिनजान होइन । प्रहरीका अनुसार पीडित १२ पुस (घटना भएकै दिन सोमबार)मा सुर्खेतबाट काठमाडौं आएको देखिन्छ । उनी काठमाडौं आएपछि बसपार्कमै उनीहरूको चिनजान भएको थिए ।

महिला कमजोर अवस्थामा प्रहरी कार्यालय पुगेकी थिइन् । उनको शरीरमा बाहिरी चोटपटक भने छैन । घटनामा गेस्टहाउसका सञ्चालकको समेत लापरबाही देखिएको र त्यसमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । एउटै बलात्कार घटनामा नौजना संलग्न भएको घटना विगतमा थाहा नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरीमा बलात्कारका दैनिक नौ उजुरी

प्रहरी प्रधान कार्यालयको अपराध तथ्यांकअनुसार देशभरि दैनिक औसतमा बलात्कारसम्बन्धी नौवटा घटना दर्ता हुने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा एक हजार तीन सय २४ घटना दर्ता भएका छन् । जसमध्ये नौ सय ९३ जबर्जस्ती करणी र तीन सय ३१ जबर्जस्ती करणी उद्योगसम्बन्धी छन् । यद्यपि, यो तथ्यांक गत वर्षको यही अवधिको तुलनामा थोरै कम भएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । गत वर्ष यही पाँच महिना अवधिमा एक हजार चार सय ३० घटना प्रहरीमा दर्ता भएका थिए । बलात्कारका घटनाको संख्याभन्दा उजुरीको क्रम बढेको एसएसपी कुँवरको भनाइ छ ।

सामूहिक बलात्कार : बसदेखि रिसोर्टसम्म

तनहुँ : ०७८ साउनमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । भानु नगरपालिका– ३ चाम्बासमा अशोक गुरुङ र देवराज सुनारलगायतले १९ वर्षीया युवतीमाथि बलात्कार गरेका थिए । घटनामा पाँचजनाको संलग्नता खुलेको थियो । उनीहरू अहिले थुनामा छन् ।

बागलुङ : गत वैशाखमा बाग्लुङ नगरपालिका– ४ मा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने पाँचजनालाई प्रहरीले पक्राउ ग¥यो । एक महिलाकै सहयोगमा स्थानीय गोकुल पुन, राजेन्द्र सुवेदी, दिनेश घर्ती र राजु कँडेलले बलात्कार गरेका थिए । उनीहरू कारागारमा छन् ।

भक्तपुर : गत वर्षको असोजमा लठ्याउने औषधि खुवाएर १७ वर्षीया किशोरीमाथि भक्तपुरमा बसभित्र सामूहिक बलात्कार भयो । त्यसमा संलग्न दीपेश राई, नीरबहादुर खड्का र सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोमा उनीहरू जेल चलान भएका छन् । राईले उनलाई रत्नपार्कबाट बा.३ख २६१२ नम्बरको बसमा चढाई लठ्याउने औषधि खुवाएर भक्तपुर पुर्‍याएका थिए । भक्तपुर पुगेपछि उनीमाथि बसभित्रै सामूहिक बलात्कार भएको थियो ।

राैतहट : गत वर्ष साउनमा रौतहटको फतुवामा ट्रकभित्रै युवतीमाथि सामूहिक बलात्कार भएको थियो । बाराको पथलैयाको बाटोमा अलपत्र परेकी युवतीलाई घर पुर्‍याइदिने भन्दै तीनजनाले ट्रकभित्रै सामूहिक बलात्कार गरेका थिए । बलात्कारमा संलग्न ट्रकचालक विष्णु रानाभाट, विनोद रानाभाट र केशव मगर अहिले जेलमा छन् ।

भक्तपुर : जागिरको प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका– ७ हेल्मेटडाँडामा रहेको रिसोर्टमा गत वर्ष पुसमा एक किशोरीमाथि दुईजनाले सामूहिक बलात्कार गरे । प्रहरीले निश्चल उपाध्याय, प्रदीप कुँवर, प्रदीप केसी र अश्विन कुँवरलाई पक्राउ गर्‍यो । चारैजना अहिले थुनामा छन् ।

नवलपरासी : २२ भदौ ०७६ मा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– ३ की १८ वर्षीया युवतीलाई १० जनाले बलात्कार गरे । साथीसँग मोटरसाइकलमा काममा जाँदै गर्दा बाटो कुरेर बसेको समूहले उखुबारीमा लगेर सामूहिक बलात्कार गरेको थियो । बलात्कारमा संलग्न नौजनालाई अदालतले दोषी ठहर गरिसकेको छ भने एकजना अझै फरार छन् ।

सिसिक्यामेराको सहयोगमा रातभर अनुसन्धान गर्‍यौँ, तीनवटा गेस्टहाउसमा लगेर नौजनाले बलात्कार गरेको पत्ता लाग्यो  

अन्तर्वार्ता

एसएसपी सुदीप गिरी प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौं

नयाँ बसपार्क भएको सामूहिक बलात्कारको घटनाको जानकारी प्रहरीले कसरी पाएको थियो ? 
मंगलबार दिउँसो करिब ३ बजेतिर हामीलाई घटनाको जानकारी आएको हो । एक महिलाले आफूलाई ८–१० जनाले बलात्कार गरेको भनेर उजुरी दिनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था पनि ठीक थिएन । तत्कालै हामीले उहाँलाई अस्पताल पुर्‍याएर अनुसन्धान सुरु गर्‍यौँ ।

नौजना अभियुक्तसम्म प्रहरी कसरी पुग्यो ? 
चिकित्सकसँग महिलाको अवस्थाबारे जानकारी लिएपछि हामीले पीडितसँग घटनाबारे थोरै जानकारी लियौँ । तर, पीडितलाई घटना भएको होटेलको नामसमेत थाहा थिएन । कसैसँग चिनजान पनि थिएन । शून्यबाट हामीले अनुसन्धान सुरु गर्‍यौँ ।

पीडितले दिएको जानकारीका आधारमा गोंगबुको मित्रनगर पुग्यौँ, जहाँ हामीले सिसिक्यामेराको सहयोगमा शतप्रतिशत अनुसन्धान थाल्यौँ । पीडितसँगै हिँडिरहेको अवस्थामा देखिएका युवालाई सिसिक्यामेरामा पछ्याउँदै जाँदा होटेल पत्ता लाग्यो र त्यहाँ बसेका व्यक्तिमाथि रातभरि अनुसन्धान गर्‍याैँ । त्यसकै आधारमा हामी नौजना नै अभियुक्तसम्म पुग्यौँ । पछि थप सिसिक्यामेरामा हेर्दा अन्य होटेलमा लगेर पनि जबर्जस्ती करणी गरिएको देखियो । जसका आधारमा करिब २४ घन्टाभित्रै नौजना अभियुक्तलाई नै पक्राउ गर्न सफल भएका हौँ ।

पक्राउ परेका आरोपीले अभियोग स्वीकार गरेका छन् ? 
पीडितको स्वास्थ्यमा केही सुधार भएकाले हामीले प्रहरी कार्यालय ल्याएर आरोपी पहिचान गर्न लगाएका थियौँ । उहाँले नौजनाकै सनाखत गर्नुभएको छ । पक्राउ परेका आरोपीले पनि स्वीकार गरेका छन् । तीनवटा फरक–फरक ठाउँमा नौजनाले बलात्कार गरेको देखिन्छ । सबै पक्राउ परेकाले थप अनुसन्धान सुरु गर्दै छौँ ।

नयाँ बसपार्कजस्तो व्यस्त ठाउँमा नौजनाबाट सामूहिक बलात्कार हुँदा पनि होटेल सञ्चालकले किन थाहा पाएनन् ? 
यसमा गेस्टहाउस सञ्चालकहरूको पनि कमजोरी देखिएको छ । एउटा कोठामा ५–६ जना पुरुष र एउटा महिला हुन्छन् र शंकास्पद गतिविधि हुन्छ भने उसले प्रहरीलाई खबर गर्नुपर्ने हो, त्यो देखिएन । यसमा होटेल र गेस्टहाउस सञ्चालकलाई पनि जिम्मेवार बनाउँछौँ ।

देशको राजधानीमा महिलामाथि नौजनाबाट सामूहिक बलात्कार हुन्छ, यसले देशमा महिला कति असुरक्षित छन् भन्ने देखाएन र ? 
यो साह्रै दुःखद र त्रासद घटना हो, तर राजधानी असुरक्षित भयो भन्न मिल्दैन । हामी २४ घन्टाभित्रै आरोपीलाई पक्राउ गर्न सफल भएका छौँ । महिलामाथि हुने यस्ता हिंसा न्यूनीकरणमा प्रहरी सक्रिय छ ।

आरोपीहरूको पृष्ठभूमि कस्तो छ ? 
सबै वैदेशिक रोजगारसँग जोडिएका व्यक्ति हुन् । कोही विदेश जाने तयारीमा रहेका, कोही पासपोर्ट बनाउन आएका त कोही विदेश जाने अन्य प्रक्रियाका लागि आएका देखिन्छन् ।