सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

57

काठमाण्डाै – सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् ।

तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो ।

सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर सिंह डङ्गोलसँग १० लाख, एलिना तुलाधर, मायोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभ केतन ढुङ्गानासँग प्रतिव्यक्ति पाँच/पाँच लाख तथा शङ्करप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

सहकारीका कार्यालय सहयोगी सङ्गीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन् ।