बालुवाटारको दबाबमा मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिन प्रभावित

37

एमबिबिएसका विद्यार्थी ठगी गरेका मेडिकल कलेज सञ्चालकमाथिको छानबिन राजनीतिक दबाबले रोकिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सबै मेडिकल सञ्चालकमाथि दुई वर्षअघि नै विस्तृत छानबिन थालेको थियो । सम्पत्ति रोक्काको चरणमा पुगेर पनि विभागले अनुसन्धानलाई तीव्रता दिन सकेको छैन । स्रोतका अनुसार बालुवाटारले चासो देखाएपछि छानबिन प्रभावित बनेको छ ।

अदालतमा ठगीको मुद्दा नै खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालमाथि विभागले प्राथमिकताका साथ छानबिन थालेको थियो । प्रारम्भिक छानबिनमै उनको सम्पत्ति करिब एक अर्ब भेटिएको थियो । त्यसको तुलनामा सरकारलाई न्यून मात्र कर तिरेकाले उनीसँग स्रोत नखुलेको सम्पत्ति रहेको प्रारम्भिक निष्कर्ष थियो । त्यतिवेला पनि प्रधानमन्त्री तहबाटै दबाब आएर बयान रोकिएको स्रोतको दाबी छ ।

स्याङ्जा नै घर भएकी तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालमार्फत खुमाले तत्कालीन प्रधानमन्त्री केपी ओलीसम्म पहुँच पु¥याएर छानबिन प्रभावित बनाएका थिए । अहिले पनि प्रधानमन्त्री शेरबहादुर देउवामार्फत नै उनले छानबिन रोक्न विभागमा दबाब दिएका छन् । उनी प्रधानमन्त्रीपत्नी आरजु देउवाका विश्वासपात्र हुन् ।

दुई वर्षअघि विभागले अर्याल र उनका आफन्तको नाममा रहेको केही सम्पत्ति रोक्कासमेत गरेको थियो । उनको सबै बैंक खाता रोक्का गरिएको थियो । स्याङ्जाको भिरकोट नगरपालिका– ७ स्थायी घर भएका अर्यालको गण्डकी मात्र नभई युनिभर्सल मेडिकल कलेजमा समेत लगानी छ । गण्डकीमा उनको सात करोड ८२ लाख ५० हजार र भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ स्टडिज एन्ड रिसर्च सेन्टरमा १८ करोड ८८ लाख लगानी छ । युनिभर्सलमै दाइ भेषराज अर्यालको नाममा ६ करोड ८१ लाख ८७ हजार आठ सयबराबरको सेयर लगानी रहेको छानबिनमा खुलेको थियो ।

त्यस्तै, खिलुङ कालिका एग्रो फार्ममा अर्यालको एक करोड लगानी देखिन्छ । सोही फार्ममा बुबा गंगाप्रसाद अर्याल तथा दाइ भेषराज अर्यालको नाममा समेत एक करोड लगानी छ । महालक्ष्मी विकास बैंकमा चार करोड २६ लाख लगानी गरेका उनले विभिन्न ५० ठाउँमा जग्गा खरिद गरेका छन् । काठमाडौं, दाङ, धनुषा, कास्की, स्याङ्जा र मकवानपुरमा उनको नाममा ठूलो परिमाणमा जग्गा छ । त्यसमध्ये केही जग्गा रोक्कासमेत भएका छन् । सस्तोमा आफ्नो नाममा जग्गा किनेर त्यही जग्गा आफूसम्बद्ध कम्पनीलाई महँगोमा बिक्री गरेको तथ्यसमेत अनुसन्धानबाट खुलेको थियो । विभिन्न बैंकमा उनको करिब आठ करोड रुपैयाँ भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले तीन वर्षअघि नै अर्यालविरुद्ध अदालतमा ठगी मुद्दा दायर गरेको थियो । सरकारले तोकेभन्दा धेरै असुलेको पैसा फिर्ता दिन नमानेपछि प्रवीण गौतमलगायत ५४ विद्यार्थीले उनीविरुद्ध जाहेरी दिएका थिए । एक करोड ७३ लाख ५७ हजार तीन सय २२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएकोमा उनी फरार भएका थिए । पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । त्यसपछि पनि सो मेडिकल कलेजले ठगी गरेको विद्यार्थीले बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक छानबिनले गण्डकी मेडिकल कलेजले ०७३ देखि ०७६ सम्म ४२ करोड पाँच लाख ठगी गरेको निष्कर्ष निकालेको थियो । त्यस्तै, उनकै लगानी रहेको युनिभर्सलले ३२ करोड ७२ लाख ठगी गरेको पाइएको थियो । केन्द्रले ती मेडिकल कलेजका सञ्चालकमाथि सम्पत्ति छानबिन गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही प्रतिवेदनलाई समेत आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएकोमा राजनीतिक दबाबले रोकिएको छ ।

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले मेडिकल कलेजका सञ्चालकमाथिको छानबिन जारी नै रहेको बताए । ‘अनुसन्धान सूचना संकलनकै क्रममा छ,’ उनले भने, ‘अनुसन्धान रोक्न मलाई कतैबाट पनि फोन आएको छैन ।’