भारतमा संक्रमित बढेसँगै नेपालमा तयारी

52

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमण दर बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको छ । नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिन नदिन थप सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।

पुस ९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट फैलन नदिन थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमणको अघिल्लो लहरमा भारतमा संक्रमण उच्च बिन्दूमा पुगेको करिब ५० दिनपछि नेपालमा संक्रमितको सङ्ख्या बढेको थियो । भारतमा जबजब कोरोना संक्रमण दर बढ्दै जान्छ, तब सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या बढ्दै जाने भएकाले समयमै सतर्कता नअपनाएको खण्डमा नेपालमा पनि ढिलोचाँडो तेस्रो लहर आउने जनस्वास्थ्यविज्ञहरु बताउँछन् ।

पहिलो तथा दोस्रो लहरको तुलनामा अहिले धेरै मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले १८ वर्षभन्दा माथिका लक्षित १ करोड ९९ लाख २२ हजार १२६ जनसंख्यामध्ये ५३.२ प्रतिशतले पूर्णमात्रामा खोप लगाएको जनाएको छ । यस्तै, ७२.१ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

के गर्दैछ सरकार ?

नेपालमा पनि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्नेभन्दै मातहतका निकायलाई सतर्क रहन निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार भारतमा संक्रमण बढेसँगै नेपालमा पनि केही समयपछि संक्रमण बढ्ने गरेकाले मन्त्रालय अहिले र्‍यापिड एक्सन प्लानको तयारीमा जुटेको बताइन् ।

स्वास्थ्य मन्त्रालयले सीमा नाकाका प्रवेश स्थलमा प्रोटोकल अनुसार परीक्षण तथा व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । यस्तै, जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाइ एन्टिजेन परीक्षणको दायरा बढाउन प्रदेश, जिल्ला, स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

पहिचान भएका संक्रमितका लागि आइसोलेशन उपचार व्यवस्थापनका लागि निर्देशन दिनुका साथै कोरोना परीक्षण, कन्ट्रयाक्ट टे«सिङ गर्न, खोप लगाउन छुटेका लक्षित समूहको पहिचान तथा कोरोनाविरुद्धको खोप प्रयोगमा वृद्धि गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

होम आइसोलेशन र क्वारेन्टिनमा बसेकालाई जनस्वास्थ्य मापदण्ड फलो गर्न तथा जनस्वास्थ्यका मापदण्डबारे निगरानी गर्न समेत स्वास्थ्य मन्त्रालय निर्देशन दिएको छ ।