प्रधानसेनापतिलाई के भएको हो?

60

प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घरबिदामा छन्। मन्त्रिपरिषद्को पुस १६ गतेको बैठकले शर्माको बिदा स्वीकृत गरेको हो। सोही बैठकले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ।

स्वास्थ्यमा लगातार समस्या भएपछि थप उपचारका लागि पुस ३० गतेसम्मका लागि घरबिदा स्वीकृत गराएका शर्मा हाल भारतमा उपचारत छन्। तर, शर्मालाई के भएको र कहाँ उपचार भइरहेको भन्नेबारे सरकार र सेना दुवैले केही खुलाएका छैनन्। मुलुकका तीन सुरक्षा निकायमध्ये सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंगको प्रमुखका रूपमा प्रधानसेनापतिलाई लिइन्छ। सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति शर्मा बिदा लिएर व्यक्तिगत रुपमा स्वास्थ्य परीक्षणका लागि भारत गएको बताए।

तर, शर्मालाई के भएको र भारतको कहाँ र कुन अस्पतालमा उपचार भइरहेको छ भन्ने खुलाउन चाहेनन्। स्वास्थ्य व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताउँदै पौडेलले भने, ‘यो व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले आवश्यक समयमा हामी तपाईंहरूलाई जानकारी गराउनेछौं।’ प्रधानसेनापति शर्मा एकदुई दिनमै स्वदेश फर्कने भन्दै उनले थपे, ‘त्यसपछि आवश्यकताअनुसार जानकारी गराउनेछौं।’ उपरथीको जिम्मेवारीमा हुँदा दुईपटकसम्म मिर्गौलामा ‘स्टोन’ भएपछि शर्माले सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराइसकेको सैनिक स्रोतले जनाएको छ। गत भदौ २४ गतेदेखि तीन वर्षका लागि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका शर्मालाई त्यसपछि पनि स्टोन देखिएको स्रोतको भनाइ छ।

यसअघि सैनिक अस्पतालमै उपचार गराउँदै आएका शर्माको स्वास्थ्यमा थप जटिलता आएपछि बिदा नै लिएर उपचारका लागि भारत गएको स्रोतले दाबी गरेको छ। ‘स्टोनका कारण पटकपटक उहाँलाई समस्या हुँदै आएको थियो,’ सैनिक स्रोतले भन्यो, ‘अन्य समस्या पनि देखिएपछि विदेशमै गएर उपचार गराउने निष्कर्षमा पुग्नुभएको हो।’ थाइराइडको समस्याबाट समेत शर्मा पीडित रहेको सैनिक स्रोतको दाबी छ। थाइराइडका कारण शर्माको शरीरमा पोटासियमको मात्रा कम हुँदा उनलाई हिँडडुलमा समेत समस्या हुने गरेको बताइएको छ।

जसले गर्दा प्रधानसेनापतिका रूपमा उनी आफैं उपस्थित हुनुपर्ने कतिपय कार्यक्रममा समेत सहभागी हुन नसकेको मुख्यालय स्रोतको दाबी छ। स्वास्थ्य अवस्था ठिक नहुँदा संविधान दिवसका अवसरमा असोज ३ गते सैनिक मञ्च टुँडिखेलको कार्यक्रममा सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित सलामी कार्यक्रममा पनि शर्मा सहभागी हुन सकेनन्। सो कार्यक्रममा सेनाका तर्फबाट सुरेश कार्की सहभागी भएका थिए।

त्यति मात्र होइन, प्रधानसेनापति शर्मा असोज २६ गते फूलपाती भित्र्याउने कार्यक्रममा पनि सहभागी हुन सकेनन्। त्यसअघि उनले असोज २४ गते सेनापतिको जिम्मेवारी सम्हालेपछि सैनिक मुख्यालयमा सम्पादकहरूसँग भेटघाट कार्यक्रम राखेका थिए। तर, स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम रद्द गरिएको थियो। कात्तिक ७ गते संयुक्त राष्ट्रसंघ (युएन) दिवसमा सेनाद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएनन्। त्यहाँ पनि रथी बालकृष्ण कार्की सहभागी भएका थिए। शर्मा कात्तिक २३ देखि २६ गतेसम्म भारतको औपचारिक भ्रमणमा गएका थिए।