बैतडीमा १७८ महिलाले प्रतिनिधित्व गर्दै

356

बैतडी। आसन्न स्थानीय तह निर्वाचनमा बैतडीमा कम्तीमा पनि एक सय ७८ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।

जिल्लामा चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ८४ वडा रहेका छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित, पिछडिएको समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्नेछ ।

सो अनुुसार निर्वाचनबाट चार सय ४० प्रतिनिधित्व रहने निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो । हरेक स्थानीय तहमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार उठाउनु पर्ने कानुनी व्यवस्था छ । सो अनुसार गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाका प्रमुख वा उपप्रमुखमा मात्रै १० महिलाको उम्मेदवारी हुने निश्चित नै रहेको छ ।

यस्तै, हरेक वडाबाट दुई–दुई महिला गरी एक सय ७८ महिलाको प्रतिनिधित्व हुने पक्का नै देखिएको छ । गाउँपालिकामा दुई र नगरपालिकामा तीन अल्पसङ्ख््यक, अपाङ्ता भएका, सीमान्तकृतको प्रतिनिधित्व हुने निर्वाचित हुनेछन् । वैशाख ३१ गते हुने निर्वाचनमा जिल्लाका ८४ वडामा कम्तीमा एउटा मतदानस्थल गरी जिल्लाभरि एक सय २० मतदान स्थल रहने छन् । हरेक मतदानस्थलमा प्रयोग हुने मतपत्रमा गाउँपालिका वा नगरपालिकाका प्रमुख वा उप्रमुख र आ–आफ्ना वडाका अध्यक्षसहित चार सदस्य गरी सातजनालाई मतदाताले मतदान गर्न पाउनेछन् ।

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र बनाएको छ । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिसकिएको छ भने वैशाख १ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएकोे छ । बैतडीमा स्थानीय निर्वाचनका लागि १३ दल दर्ता भएका छन् भने एक लाख २४ हजार आठ सय २४ जना मतदाता रहेका छन् ।