‘बोयर’ बाख्रा पालनमा कृषकको आकर्षण

1156

म्याग्दीका कृषकको बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् ।

आम्दानीको हिसाबले बोयर जातको बाख्रा पालन फलदायी हुने बेनी नगरपालिका– ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले बताए । बोयर र स्थानीय जातका बाख्रालाई क्रस गराउँदा जन्मने पाठापाठी छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

सो फार्ममा तीन वर्षअघि स्याङ्जाबाट ल्याएको एउटा बोयर जातको बोकालाई स्थानीय खरी र जमुनापारी जातका बाख्रासंग क्रस बनाएर ५५ वटा उन्नत जातको बाख्रा उत्पादन गरिएको छ ।

“बोयरसँग क्रस गराएर जन्मिएका पाठापाठीको तौल तीन महिनामै २५ किलोग्रामसम्म हुन्छ” श्रीसले भने, “एउटै खसी बोकाको तौल एक सय किलोग्रामभन्दा बढी हुन्छ ।” उनले बोयर क्रस गरेको पाठापाठी बेचेर पछिल्लो एक वर्षयता सात लाख रुपैयाँ आम्दानी भएको बताए ।

चार महिनासम्मका पाठापाठीलाई ३० देखि ४० हजार रुपैयाँसम्ममा बिक्री हुने र माग उच्च रहेको कृषकको भनाइ छ । अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीको ठूलोबगर बाख्रा फार्मका सञ्चालक बुद्धि पुनले स्थानीय जातका बाख्रा घटाएर बोयर जातका बढाएका छन् ।

८ महिनाअघि बिउका लागि दुई लाख रुपैयाँमा एउटा बोका किनेर ल्याएका पुनको फार्ममा अहिले १० वटा क्रस पाठापाठी छन् । छिटो शारीरिक वृद्धि, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी र स्थानीय हावापानी अनुकूल भएकाले व्यावसायिक कृषकको बोयर जातका बाख्राप्रति आकर्षण बढेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताए ।

सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा नेपालमा करिब २० वर्षअघि भित्रिएको थियो । बन्दिपुर बाख्रा विकास फर्मका साथै निजी फर्महरूले यो जातको बाख्रा उत्पादन र विस्तार गरिरहेका चिकित्सक पुनले बताए । प्रतिदिन १५० देखि तीन सय ग्राम तौल बढ्ने बोयरमा जुम्ल्याह जन्माउने क्षमता सतप्रतिशत हुन्छ ।

म्याग्दीका कृषकले उत्पादन गरेको बोयर क्रस जातको पाठापाठी तनहुँ, कास्की, स्याङ्जा, नवलपरासी, पर्वत, बागलुङ र मोरङमा निकासी हुन्छ । एक दर्जनभन्दा बढी फर्ममा बोयर बाख्रा पालिएका छन् ।