मानव अङ्ग प्रत्यारोपण केन्द्रमा साढे १३ करोडको अनियमतिता, निर्देशक श्रेष्ठले गरे यी १० गल्ती

624

भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा विभिन्न १६ प्रकारका उपकरण तथा मेसिनहरुको खरिदमा १३ करोड ६६ लाख २४ हजार रुपैयाँ अनियमितता भएको पाइएको छ।
मिर्गौला प्रत्यारोपण गरिरहेको र हालै कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रमा प्रत्यारोपणका उपकरण, शल्यकक्षका उपकरण र मिर्गौला रोगीको रगत शुद्धिकरणका लागि प्रयोग हुने हेमोडायलाइसिस मेसिन लगायतका १६ थरीका उपकरण खरिदमा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखाको प्रतिवेदनमा सार्वजनिक खरिद नियमावली विपरित केन्द्रले आफू अनुकुल मेडिकल उपकरण तथा मेसिनरी सामग्री खरिद गरेको उल्लेख छ। केन्द्रले प्राविधिक समितिले तोकेको स्पेसिफिकेशन नमिलेका र प्राविधिक जाँचका क्रममा खरिद गर्न नमिल्ने भनिएका उपकरणहरु समेत खरिद गरेको पाइएको छ।

केन्द्रले एक करोड ६ लाख ७१ हजार रुपैयाँमा हेमो डायलाइसिस मेसिन, डायलाइसिसमा नै चाहिने आर.ओ प्लान्ट, डायलाइजर लगायतका चार वटा मेसिनरी सामग्री प्राविधिक जाँचमा स्पेसिफिकेशन नमिल्दा पनि खरिद गरेको देखिएको हो।

‘सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११५(१) मा सार्वजनिक निकायले आपूर्ति गरिएका मालसामान सम्झौतामा उल्लेखित प्राविधिक स्पेसिफिकेशन र गुणस्तर वमोजिम भए नभएको परीक्षण गराउनु पर्ने र गुणस्तर वमोजिम नभए सोही नियमावलीको नियम (४) वमोजिम आपूर्तिकर्तालाई फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि हेमो डायलासिस मेसिन, आर.ओ. प्लान्ट, डायलाइजर लगायतका ४ मेशिनरी मालसामान प्राविधिक जाँच गर्दा सम्झौतामा उल्लेखित स्पेसिफिकेशन नमिलेकोमा समेत सामान स्वीकार गरी रु १ करोड ६ लाख ७१ हजार रुपैयाँ भुक्तानी दिएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसरी स्पेसिफिकेशन नमीलेको अवस्थामा पनि सामान आपूर्ति लिई भुक्तानी भएको उक्त मेसिनवाट तोकिएको कार्य सम्पादन हुने सम्बन्धमा आश्वस्त हुन सकिएन ।’

लागत अनुमान बेगर ७ करोडको खरिद

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ मा सार्वजनिक निकायले ताकिएबमोजिम मालसामानको लागत आनुमान तयार गर्नुपर्छ। तर केन्द्रले नियमावलीको प्रावधान विपरीत ७ करोड २६ लाख २४ हजार रुपैयाँमा विभिन्न उपकरण तथा सामग्री खरिद गरेको भेटिएको छ।

‘लागत अनुमान तयार गर्दा खरीद भएका सवै आईटमहरुको बजारभाउ गत वर्षको मूल्यलाई आधार नमानी उच्च दर लिएको तथा औषत दरलाई आधार नमानी विना आधार लागत अनुमान स्वीकृत गरी खरीद कार्य गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नियमावलीमा भएको व्यवस्था अनुसारका पक्रिया अवलम्वन गरी लागत अनुमान तयार गरी न्यून लागतमा प्रतिस्पर्धात्मक रूपमा गुणस्तरीय मेसिन उपकरण र सामान खरिद गर्नुपर्नेमा केन्द्रले नियमविपरित खरिद गरेको छ।’

सम्झौता विपरीत भुक्तानी

केन्द्रले अत्याधुनिक मोडुलर शल्यकक्ष निर्माण गर्ने क्रममा निर्माणमा संलग्नलाई सम्झौता विपरित रकम भुक्तानी गरेको छ। केन्द्रले मूल्य अभिबृद्धी कर बाहेक एक करोड ९४ लाख ६९ हजार रुपैयाँमा मोडुलर ओटी निर्माण गरेको थियो।  त्यसक्रममा केन्द्रले सम्झौता विपरित निर्माणमा संलग्नहरुलाई रकम भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३मा खरिद सम्झौता अनुसार सार्वजनिक निकायले विल वा विजकको रकम भुक्तानी गर्दा सम्झौताको सर्तनामा अनुसार गर्नुपर्ने व्यवस्था रहेको छ । तर, केन्द्रले कामको आधिकारीक मूल्याङ्ककन विना नै रकम भुक्तानी गरेको भेटिएको छ।

‘यसरी रकम भुक्तानी भएकोमा सम्झौतामा आंसिक भुक्तानीको व्यवस्था नगरेको तथा भएको कामवाट तोके वमोजिम कार्य सम्पादन भएको आश्वस्त हुन सक्ने अवस्था छैन’ प्रतिवेदनमा भनिएको छ, ‘सम्झौता वमोजिम कार्य पूरा नभएको अवस्थामा रकम भुक्तानी भएको नियमसंगत देखिदैन ।’

लागत अनुमान भन्दा बढीको बोलपत्र स्वीकृत

सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि बोलपत्रमा खरिद गर्न तयार गरिएको लागत अनुमान भन्दा बढी रकमको बोलपत्र परेमा त्यस्तो बोलपत्र अस्वीकृत हुन्छ। तर, केन्द्रले ऐन विपरित बोलपत्रको कबोल अंक लागत अनुमान भन्दा दुई लाख १५ हजार बढीको बोलपत्र स्विकृत गरी ६४ लाख ३३ हजार रुपैयाँमा ल्याबका सामग्रीहरु खरिद गरेको भेटिएको छ।
केन्द्रले स्लाइस ६ ल्याव सामानको लागि ६२ लाख १८ हजारको लागत अनुमान गरेको थियो। सोही अनुसार केन्द्रले बोलपत्र आह्वान गरेको थियो। उक्त क्रममा केन्द्रले लागत अनुमान भन्दा दुई लाख १५ हजार बढी रकम पेश गर्ने एक कम्पनीसँग ६४ लाख ३३ हजार रुपैयाँमा बोलपत्र स्विकृत गरेको छ। ‘उपकरण खरिदमा केन्द्रले ऐनको प्रावधान विपरित खरिद गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ ।’

६८ लाखका औषधि तथा सर्जिकल सामान सोझै खरिद

केन्द्रले कमिसनको लोभमा आफू निकटका व्यक्तिसँग नियमविपरित ६८ लाख ९ हजार रुपैयाँ बराबरको औषधि तथा सर्जिकल सामान सोझै खरिद गरेको पाइएको छ। केन्द्रले दरभाउपत्र नलिई कमिसनका लागि २८ पटकमा गरि आफू निकाटकासँग उक्त रकमको औषधि तथा सर्जिकल सामान किनेको महालेखाको प्रतिवेदनले देखाएको हो।

‘केन्द्रले आपूर्तिकर्ताहरुबाट लिखित रुपमा दरभाउपत्र माग नगरी विभिन्न २८ पटकमा रु ६८ लाख ९ हजार बराबरका औषधि तथा सर्जिकल सामान सोझै खरीद गरेको देखियो’ प्रतिवेदनमा उल्लेख छ, ‘यसरी दरभाउपत्र नलिई खरिद गरेको कार्य नियमसम्मत् देखिएन ।’
यसैगरी, केन्द्रले अपरेसन टेवल, फिस्टुला निडिल, एनेस्थेसिया मेशिन लगायतका कुल १६ प्रकारका मेडिकल उपकरण तथा मेसिनरी सामग्री नियम विपरित खरिद गरेको देखिएको हो।

निर्देशकले गरेका १० गल्ती

महालेखाले केन्द्रका प्रमुख डा. पुकार चन्द्र श्रेष्ठले नियमअनुसार काम नगरेका विवरणहरुको सूची समेत तयार पारेको छ। जसमध्ये प्रमुख १० गल्ती यसप्रकार छन्ः

१. नियम विपरित उपकरण खरिद

२. बिल भरपाई प्रमाणित नगरेको

३. औषधि खरिदको ठेक्का व्यवस्थापन नगरेको

४. वार्षिक कारोबारको संक्षिप्त प्रतिवेदन तयार नगरेको

५. कर्मचारीको तलबी प्रतिवेदन पारित नगरेको

६. खरिद योनजा नबनाएको

७. मेशिनरी सामानको मर्मत अभिलेख नराखेको

८. तुलनात्मक आय–व्यय विवरण नबनाएको

९. प्रतिस्पर्धा बेगर करारमा कर्मचारी नियुक्ति गरेको

१०. खरिद व्यवस्थापन नगरेको

from swastyakhabar