७ हजार बालबालिकालाई विद्यालय ल्याउने रुपन्देहीको लक्ष्य

389

रुपन्देही  । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जिल्लाको विकट गाविसमा विद्यालयको पहुँच भन्दा बाहिर रहेका ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र धकघही, मैनिहवा, पडसरी लगायतका गाविसका बालबालिकाहरु विद्यालय भर्ना हुन सकेका छैनन् ।

ती क्षेत्रमा बसोबास गर्ने मुहसर, पथत्करकट्टा जस्ता पिछडिएका जातिका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेकाले विद्यालयमा ल्याउन यही शैक्षिक सत्रदेखि विशेष छात्रवृतिको व्यवस्था समेत गरिएको छ ।

जिल्लामा अहिले बाल विकास केन्द्रअन्र्तगत सामुदायिक विद्यालयतर्फ १० हजार ६७७ बालबालिका अध्ययनरत छन् भने संस्थागत विद्यालयतर्फ २३ हजार ७९९ बालबालिका रहेका छन् । तिनीहरुमध्ये कम्तीमा १० हजार कक्षा १ मा भर्ना हुने अनुमान गरिएको थापाले बताउनुभयो ।

बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसहित भर्ना अभियान सञ्चालन गरिएको बुटवल १३ देवीनगरमा रहेको नवीन औद्योगिक माविका प्राचार्य प्रेम बस्नेतले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय रुपन्देहीले भर्ना अभियानलाई सार्थक बनाउन पर्चा, पम्पलेट, फ्लेक्स प्रिन्ट ठाउँ ठाउँमा राखेर प्रचार गरिरहेको छ । स्थानीय भाषा खासगरी अवधी भाषा प्रचार सामग्रीहरु छापिएका छन् ।
भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम कार्यक्रम सञ्चालनमा ल्याएको छ । रुपन्देहीको बुटवल तथा भैरहवा जस्ता सहर पनि ठूल्ठूला शैक्षिक संस्थाहरु रहेका छन् । थापाले सहरभित्र पनि होटलमा काम बाल मजदुर र सडक बालबालिकाहरुलाई विद्यालय ल्याउन लागि प्रयास गरिएको बताउनुभयो ।

रुपन्देहीमा हाल २३९ वटा प्राथमिक विद्यालय सञ्चालित छन् जसमा सामुदायिक १३८ र निजी १०१ छन् ।