कारागारबाट कैदी भाग्नेक्रममा झडप हुँदा १२ जनाको मृत्यु, ११ जना घाइते

465

—भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् । पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

निजी क्षेत्रबाट प्रकाशित हुँदै आएको एल युनिभर्सल नामक दैनिक पत्रिकाले कैदीहरु र सुरक्षा गार्डहरुका बीचमा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको जनाएको छ । मङ्गलबार दिउसो १ बजेदेखि बेलुका ६ बजे सम्म भिडन्त चलेको पत्रिकाले लेखेको छ । कैदीहरुले कारागार नै नियन्त्रणमा लिन खोजेपनि भिडन्त भएको बताइएको छ ।

कारागार भित्र रहेका इल बालु, इल यान र कासानोभा नामका कैदीहरुको समूहले कारागारमा हिंसा भड्काएको र उनीहरुको मृत्यु भएको पत्रिकाले जनाएको छ ।भेनेजुएलाका कारागार मामिला मन्त्री आईरिस भारेलाले ९ जना गोली लागि मरेका्, दुई जना औषधीको अत्याधिक प्रयोग र एक जनाको कुटाईका कारण मृत्यु भएको जानकारी दिएका छन् ।

मन्त्री भरेलाले राष्ट्रपति निकोलास मदुरोकाविरुद्धमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले कैदीहरुलाई ५० हजार अमेरिकी डलर दिएर हिंसा भड्काउन उक्साएको आरोप लगाएका छन् ।मदुरोविरुद्धमा विगत चार हप्तादेखि भईरहेको प्रदर्शनका क्रममा अहिले सम्म झण्डै दुई दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ । प्रदर्शनकारीहरुले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् ।एजेन्सी,