नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई

76

नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि ग्रहण गर्दा फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेण्ड रनरअपको उपाधि किरणकुमार भुजेलले हात पारे । नेपाल आइडल–३ को उपाधिसहित बिजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेण्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्।
मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ। कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनको ‘दि लोडिङ’ नामक ब्याण्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउञ्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउने गर्थिन् भने दैनिक तीन देखि चार घण्टा निरन्तर गीत गाउनुपर्थ्यो उनलेे ।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । गीत गाएर कमाएको पहिलो कमाइ पाँच सय रुपैयाँ थियो। उनका आमा-बुवाले गायन क्षेत्रमा लाग्न सधैं प्रेरणा, हौसला र सहयोग गरिरहनु भयो । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन्।
सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई। गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसंग अझ नजिक बनाएको बताउँछिन्।