काठमाडौं – स्थानीय तह निर्वाचनमा काठमाडौ महानगरपालिकामा विवेकशील नेपाली दल र साझा पार्टीबीच गर्ने भनिएको चुनावी तालमेल अन्योलमा पुगेको छ । दुई दलबीच चुनावी तालमेलको नीतिगत सहमति नजिक पुगेको भनिएतापनि आज भएको गोप्य वैठकमा दुवै तर्फवाट आ आफ्नो अडानकै कारण निर्णयमा पुग्न सकेन । दुईदलबीच मेयर पदको लागि दाबी गरेपछि कुरा मिल्न नसकेको स्रोतले जनाएको छ ।
चुनाव चिह्न नपाउने स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेभएपछि दुई दलले उम्मेदवारी घोषणा गरिसकपनि चुनावी तालमेल गर्ने तयारी थालेका थिए । विवेकशील नेपाली दलले मेयरपद आफुलाई चाहिने माग गरेपनि नेपाल सरकारका पूर्व सचिव तथा बागमती सफाई अभियानका अग्रणी व्यक्तित्व किशोर थापाले मेयरपद पाउनु पर्ने साझापार्टीको माग थियो ।
विवेकशील नेपाली दलले रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने साझा पार्टीले किशोर थापालाई मेयरको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।
काठमाडौँकी स्थानीय २१ वर्षकी रन्जु हाल स्नातक अध्ययनरत छिन्। दोस्रो संविधानसभाको निर्वाचनमा विवेकशील नेपाली दलको बन्दविरोधी अभियानमा उनी संलग्न थिइन्। २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको रुपमा रञ्जुले काम गरेकी थिइन्।
डा गोविन्द केसीसँको आन्दोलनमा समेत विवकेशील दलको तर्फबाट रञ्जुले नेतृत्वदायी भूमिका खेलेकी थिइन्।विवेकशील दलले काठमाडौँलाई जनताको लागि काम गर्ने संसारकै सुन्दर सहर बनाउने परिकल्पना निर्माणमा उनी सक्रिय रहेको जनाएको छ। विवेकशील नेपालीका अध्यक्ष उज्वल थापाले नयाँ पुस्ताको भूमिका महसुस गरेर नै उम्मेदवारी तय गरिएको जनाएका छन्।
पूर्व सञ्चारकर्मी रवीन्द्र मिश्रको पहलमा खुलेको साझा पार्टीले यसअघि पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य, नेपाल सरकारका पूर्व सचिव तथा बागमती सफाई अभियानका अग्रणी व्यक्तित्व किशोर थापालाई मेयरका लागि स्वतन्त्र उम्मेदवारी तोकेको छ ।