यातायात कम्पनीः बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई…… जस्तै हो । गौतम श्रेष्ठ, अध्यक्ष– चन्द्रागिरी यातायात प्रा.लि.

638

सरकारले संघ संस्था हटाएर कम्पनीमा रुपान्तरण गर्ने नीति ल्याएपछि यसका सकरात्मक तथा नकारात्मक पक्षहरूबारे निरन्तर बहस चलिरहेको छ । आज हामीले यससंग सम्बन्धित रहेर यातायात व्यवसायीको धारणा लिने प्रयास गरेका छौं । साथै यस क्षेत्रका समस्या तथा चुनौतिका विषयमा पनि केही खोज्ने प्रयास गरिएको छ । यसै विषयमा केन्द्रित रहेर चन्द्रागिरी यातायात प्रा.लि.का अध्यक्ष गौतम श्रेष्ठसंग कुराकानी गरेका छौं ।

चन्द्रागिरी यातायातले अहिले कुन-कुन रुटमा सेवा सञ्चालन गरिरहेकाे छ ?
हाल नागढुंगा पिप्लामोडबाट रत्नपार्क, शहीदगेट हुँदै बुढानिलकण्ठ, दहचोकबाट रत्नपार्क र मच्छेगाँउबाट रत्नपार्क-बानेश्वर-कोटेश्वर हुँदै भक्तपुरकाे बालकोटसम्म रुट परमिट लिई सेवा सञ्चालन गरिरहेका छौं भने निकट भविष्यमा चन्द्रागिरी नगरपालिका र काठमाडौं उपत्यकाको सडक पुगेका सबै ठाउँमा यातायात सेवा बिस्तार गर्ने हाम्रो लक्ष्य रहेको छ ।

-सरकारले नै संघ समितिलाई कम्पनीमा लैजाने नीति लिईसके पश्चात् यहाँहरूलाई कस्तो प्रभाव परेको छ त ?
पहिले संघ समिति हुँदा धेरैको मतमतान्तर हुने, धेरै जनाको चित्त बुझाएर जानुपर्ने अवस्था थियो । कतिपय पदाधिकारीहरू आफ्नाे निहित स्वार्थका निम्ति अावद्ध अन्य व्यवसायी र संस्थागत हित भन्दा पनि व्यक्तिगत फाइदाको लागि मरिहत्ते गर्थे भने अहिले कम्पनीमा रुपान्तरण भइसके पश्चात् त्यो कुराको अन्त्य भएको छ । धेरै हिसाबले कम्पनी राम्रो हो भन्ने मलाई लाग्छ ।

-सरकारले संघ समितिलाई कम्पनीमा लगेपछि सिन्डिकेट भन्ने हटेको हो त ?
सरकारले संघ समितिलाई कम्पनिमा रुपान्तरण गरिसकेपछि यात्रुहरूलाई पनि निकै सहज भएको छ । पहिला सिन्डिकेटका कारण नयाँ रुटमा गाडी चलाउन अवरोध हुन्थ्यो भने अहिले नयाँ-नयाँ
स्थानमा रुट परमिट लिएर गाडी चलाउन सहज भएको छ । यसले गर्दा यात्रुहरूले पनि धेरै समय सम्म गाडी पर्खनु नपर्ने भएको छ ।

-विगतमा संघ समितिमै रहेका व्यवसायी अहिले कम्पनिमा पनि आवद्ध भएका छन्,उनिहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ तपाईंले ?
पहिला पहिला कम्पनी प्रतिको बुझाईमा अलि कमी थियो उहाँहरूमा । कम्पनीमा गएपछि व्यवसाय नै चौपट हुने हो कि भन्ने अाशंका र भ्रम थियो, तर अहिले त्यस्तो अवस्था छैन ।

-सरकारले सार्वजनिक यातायातहरूका लागि विभिन्न मापदण्डहरू अघि सारेको छ, कत्तिको पालना गर्नु भएको छ ?
सरकारले सार्वजनिक यातायातमा जुन मापदण्डहरू राखेको छ, ती मापदण्डहरूलाई पनि हामीले धेरै हदसम्म पालना गरेका छौं । हाम्रा बसहरूमा डस्टबिनको व्यवस्था गरेका छौं । त्यस्तै गर्भवती र सुत्केरी महिलाका लागि आरक्षण सिटको व्यवस्था गरेका छौं, जुन अन्य यातायातमा देखिएको छैन । अझ हामीले विशेष गरी प्रविधिलाई नै जोड दिइरहेका छौं । अहिले हाम्रा सबै गाडीहरूमा जीपीएस प्रणाली जडान गरेका छौं भने यात्रुहरूको सुविधालाई विशेष ध्यानमा राख्दै निकट भविष्यमै भाडाको लागि पैसाको सट्टा कार्डको व्यवस्था गर्दैछौं ।

-यात्रुहरूले गाडी चढ्न घण्टौं कुर्नुपर्ने बाध्यता छ । चन्द्रागिरी यातायातमा चाहिँ के छ त अवस्था ?
चन्द्रागिरी यातायातमा त्यस्तो अवस्था छैन, पिक एण्ड ड्रप हो हाम्रो सेवा । चढ्ने र अोर्लने समय बाहेक अन्य कारणले ढिलो हुन्न ।

-यतिबेला त कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन तथा निशेधाज्ञा जारी गरिसके पश्चात यातायातका साधनहरू लामो समयदेखि थन्किएका छन् , कस्तो छ यहाँहरूको अवस्था चाहिँ ?
धेरै नै समस्या छ । सरकारलाई हामीले जत्ति ध्यानाकर्षण गराए पनि पटक्कै सुनुवाई भएको छैन । सवारी साधन यसरी महिनौं थन्किएर बस्दा झन् ठुलो नोक्सानी व्यहोर्नु परिरहेको छ । इञ्जिन कामै नलाग्ने भएको छ भने टायरहरू बिग्रिएर चल्न नसक्ने अवस्था छ । अब ती सवारीसाधन रोडसम्म ल्याउन सक्ने अवस्था छैन । पुनः सञ्चालन गर्न प्रति गाडी २ देखि ३ लाखसम्म खर्च हुने देखिन्छ ।

-अन्त्यमा के भन्न चाहनु हुन्छ ?
विगतमा जस्तो पुरातन हिसाबले अब हुँदैन, हामीले यात्रुलाई समयानुकूल सुविधा दिंदै, पछिल्लो प्रविधिको प्रयोग गरेर अघि बढ्नु पर्छ भन्न चाहन्छु । अर्कोतर्फ यतिबेला यातायात व्यवसाय कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा तहसनहस भएको अवस्था छ । त्यो कुरालाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्दछ ।साथै यहाँहरूले सञ्चालन गर्नुभएको यातायात क्षेत्रको एकमात्र अनलाइन पत्रिका यातायात टाइम्स डटकम सफलताको निम्ति धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।